काठमाण्डौं । इटालीका पूर्वकप्तान तथा विश्वविख्यात गोलकिपर जियानलुइजी बुफोनले नेपाललाई एसियन कप, विश्वकप र अन्य अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा देख्न चाहेको बताएका छन्।
आइतबार काठमाडौंको हायत रिजेन्सी होटलमा आयोजित पत्रकार सम्मेलनमा बुफोनले नेपालले विश्व फुटबलको ठूला प्रतियोगितामा प्रतिस्पर्धा गर्न आवश्यक संरचना विकास र लगानी गर्नुपर्ने धारणा व्यक्त गरे। ठूलो लक्ष्य लिएर निरन्तर मिहिनेत गरे, एक दिन त्यो पूरा हुने विश्वास पनि उनले व्यक्त गरे।
सन् २००६ को विश्वकप विजेता इटाली टोलीका मुख्य गोलकिपर रहेका बुफोन आइतबार नेपाल आएका हुन्। आफू सानै हुँदा नेपालका झण्डा आकर्षक लाग्ने गरेको स्मरण गर्दै उनले हिमालको देश नेपाल भ्रमण गर्ने आफ्नो सपना पूरा भएको बताए। नेपाल आउँदा अत्यन्त उत्साहित भएको उल्लेख गर्दै उनले यस अवसरका लागि आयोजकलाई धन्यवाद दिए।
बुफोन केपी ओली कपको फाइनलका लागि नेपाल आएका हुन्। उनले आजको दिन आफू र आफ्नी श्रीमतीका लागि अविस्मरणीय रहेको बताए। खेल जीवनभर आफ्नो फिटनेसलाई प्राथमिकता दिँदै हरेक दिन उत्कृष्ट प्रदर्शनका लागि मेहनत गरिरहेकाले अहिले पनि आफू सशक्त रहेको उनको अनुभव छ।
हाल केपी ओली कपको फाइनलका लागि नेपाल आएका बुफोनले भविष्यमा पुनः नेपाल आउने चाहना व्यक्त गरे। अर्को पटक लामो समयका लागि नेपाल आउँदा उनले देशका विभिन्न स्थान घुम्ने तथा यहाँका धार्मिक स्थलहरूको भ्रमण गर्ने योजना समेत सुनाए।