काठमाडौं । बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि झुठो विवरण पेश गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।सिलवालले नागरिकता लिएको मिति र उनले विश्वविद्यालयबाट पाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति फरक रहेको अख्तियारको आरोप थियो । उनले वास्तविकता भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको समेत आरोप थियो । विशेष अदालतले सिलवाललाई अख्तियारको सबै आरोपबाट सफाइ दिएको छ ।
सिलवालले आफ्नो जीवनकालमा तीन पटक नागरिकता लिएको देखिन्छ । उनले पहिलोपटक २०३२ फागुन २४ गतेको नागरिकता लिएका थिए । उक्त नागरिकतामा उनको उमेर १६ वर्ष उल्लेख थियो । तर त्रिभुवन विश्वविद्यालयबाट जारी भएको डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५ साउन १५ गते उल्लेख थियो ।
सोही मिति प्रयोग गरेर उनले २०४३ सालमा अधिकृत स्तरको नियुक्ति लिएका थिए । सोही अनुसार ५८ वर्षे उमेरहदका कारण उनी २०७३ साल साउन १५ गते नै अवकाश भएका थिए । तर, योबिचमा साधारण तथा कूटनीतिक राहदानी लिँदा भने उनले आफ्नो उमेरलाई घटाएको देखिन्छ । राहदानीमा उनको जन्म मिति २०१८ कात्तिक २४ गते रहेको उल्लेख गरिएको छ ।