काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय संसद्मा विचाराधीन शिक्षासम्बन्धी विधेयक चाँडोभन्दा चाँडो पारित गराउन सरकार लागिपरेको बताएका छन् । आज ( शुक्रबार) नेशनल प्याव्सको महाधिवेशनमालाई सम्बोधन गर्दै उनले शिक्षा विधेयकलाई सन्तुलित बनाएर पास गरिने बताए ।
विधेयकमा विद्यार्थी, अभिभावक र शिक्षकको सर्वोत्तम हितलाई ध्यानमा राखेर शिक्षा विधेयक पारित गरिने उनले बताए । शिक्षा विधेयक पारित गराउने सन्दर्भमा प्रतिपक्षी दलहरु पनि सहमत रहेको उनले बताए ।वर्तमान सरकार केही मानिसलाई मन्त्री र कोही मान्छे प्रधानमन्त्री बनोस् भनेर नबनेको उनको दाबी छ । सरकार देशमा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको उनको दाबी छ ।
साथै, वर्तमान व्यवस्थाको विकल्प अर्को कुनै व्यवस्था हुन नसक्ने उनको दाबी छ । मन्त्री लेखकले लोकतन्त्रको विकल्पमा अर्को कुनै तन्त्र आएपछि सबै कुरा ठीक हुन्छ भन्नु बेठीक रहेको बताए । ‘लोकतन्त्रको विकल्प कुनै तानाशाही व्यवस्था हुन सक्दैन । यो संसारको यथार्थताले देखाइसकेको कुरा हो । लोकतन्त्रको एउटा विकल्प हो, लोकतन्त्र ।
केही कुराहरुको कमी भएको छ, त्यसलाई राम्रो गर्नुपर्यो । अगाडि बढाउनुपर्यो । केही कुरा भएका छन्, धेरै कुरा गर्नुपर्यो । तर, लोकतन्त्रमा हुन सकेन, अर्को कुनै तन्त्र आएपछि हुन्छ भन्नु त्यो बेठीक हो,’– उनले भने । उनले भने, ‘अहिलेको समीकरण सरकार बनाउनको लागि सरकार र केही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै बनेको होइन ।
हामीले मुलुकमा स्थिर सरकार स्थापित हुन सकोस्, र त्यो सरकारले देशमा दिगो शान्ति, सुशासन र उन्तिको यात्रामा अघि बढाउनको लागि बनाएका छन् ।’
सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्नको लागि अध्यादेश ल्याएको जिकिर गरे । उनले भने, ‘केही प्राविधिक र प्रक्रियात कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिला भइसकेको छ।
तर, हामी समयभित्रै सदनले स्वीकार गर्ने र प्रतिस्थापन गरेर नयाँ कानून बनाउँछौं ।’उनले सरकारले शिक्षा विधेयक पनि यही अधिवेशनबाट पारित गर्ने बताए ।