ताप्लेजुङ । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा सुरु भएको आन्दोलन नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । आज बिहान ५ बजेबाट लागू हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । नो केबलकार पक्षको पदयात्राका क्रममा शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको थियो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शन र जुलुसका कारण स्थानीय स्तरमा प्रतिकूल स्थिति सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थिति देखिएपछि शनिबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो । सदरमुकामको पूर्वतर्फ फुङलिङ नगरपालिका ७ सल्लेरी, पश्चिममा फुङलिङ नगरपालिका ७ घोडेचौर काफ्लेपार्टी, उत्तरमा फुङलिङ नगरपालिका–४ उकालीपानी र दक्षिणमा फुङलिङ नगरपालिका ६ शेर्पाटोल, भेटनरी कञ्चनजंघा टोल क्षेत्र रहेको छ ।
यस्तै काफ्लेपार्टी क्षेत्रमा पूर्वतर्फ पर्यटन प्रहरी कार्यालयको एक सय मिटर क्षेत्र, पश्चिममा डढेले इलाका, उत्तरमा केबलकार शव स्टेशन, पानीको मुहान इलाकाको एक सय मिटर र दक्षिणमा नयाँ बसपार्क इलाकाको एक सय मिटर जङ्गल क्षेत्रमा समेत निषेधाज्ञा जारी गरिएको छ । प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ ।