सल्यान। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चाहेको दिन हटाउने आफूहरुसँग तागत रहेको बताएका छन् । आज ( शनिबार ) कांग्रेस सल्यानको जिल्ला सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही समयपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पनि बताए । ‘हामी संसद्को सबैभन्दा ठूलो पार्टी छौं अहिले । हामीले बनाएको प्रधानमन्त्री हुनुहुन्छ, हामीले चाहेको दिन प्रधानमन्त्रीबाट हटाउने तागत पनि राख्छौं । केही समयपछि हाम्रो नेतालाई प्रधानमन्त्री पनि बनाउँछौं हामी,’– उनले भने ।
महामन्त्री थापाले सरकारको कामको गति नपुगेको पनि टिप्पणी गरे । उनले अहिलेको परिस्थितिमा सरकारमा बसेकाहरुले महशुस गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री ओलीलाई दिनदिनै सरकार ढल्दैन भनेर नभन्नसमेत आग्रह गरे ।
कांग्रेसले निर्णय नगरेसम्म वर्तमान सरकार नढल्ने उनको भनाइ छ । साथै, सुशासनको कुरा प्रधानमन्त्री ओलीले म भ्रष्टाचार गर्दिनँ भनेर मात्रै नपुग्ने उनले बताए । भ्रष्टाचार गर्यो कि गरेन भन्ने कुरा आम नागरिकहरुले घटना, पात्र र प्रवृत्तिहरुबाट महसुश गर्नुपर्ने उनको भनाइ छ ।
कांग्रेसका जिल्ला समितिले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको कार्य आगामी चैतभित्र सक्नुपर्ने थापाको निर्देशन थियो । उनले कांग्रेस महाधिवशेनबारे नेताहरूले भ्रम फैलाइरहेको पनि बताए ।
कांग्रेस महाधिवेशन समयमा हुँदैन, २०८४ को निर्वाचनपछि हुन्छ, खबरदारी गर्नुपर्यो भनेर नेताहरूले भनिरहेका छन् । ठूला, साना नेतालाई आग्रह गर्छु( अनावश्यक भ्रम सिर्जना नगर्नुस्, उनले भने । साथै, केही समयपछि कर्णालीमा कांग्रेसबाट जीवन शाही मुख्यमन्त्री बन्ने पनि महामन्त्री थापाले उद्घोष गरे । उनले भने,‘मुख्यमन्त्री हामीले बनाएका छौं, केही समयपछि कर्णालीका साथी जीवन शाहीलाई फेरि यहाँको मुख्यमन्त्री बनाउँछौं ।
हामी नेपालको सबैभन्दा ठूलो पार्टी हो । देशको अहिलेको अवस्थालाई चिर्ने काम काँग्रेसले नै गर्ने महामन्त्री थापाले बताए ।
नेपाली काँग्रेस सल्यानले आयोजना गरेको प्रथम जिल्ला सम्मेलन तथा बृहत आमसभा कार्यक्रम सल्यान खलगामा सम्पन्न भएको छ ।
जिल्ला सभापति केशबहादुर विष्टको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा पार्टीका महामन्त्री गगन थापा रहेका थिए भने जिल्ला उप सभापति चक्र देवकोटाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।
महामन्त्री मा। गगन कुमार थापा, विशिष्ट अतिथि पूर्व मुख्यमन्त्री एवं संसदीय दलका नेता जीवन बहादुर शाही, केन्द्रिय सदस्य राधा घले, नेपाली काँग्रेस कर्णाली प्रदेश कार्यसमितिका सभापति ललित जंग शाही, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, कर्णालीका महामन्त्री निरञ्जन के।सी।, सहमहामन्त्री एकराज डाँगीे लगायतले कार्यक्रममा आ–आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रममा विभिन्न जिल्लाका पार्टी सभापति, जिल्ला स्थित पार्टीका विभिन्न ओहदाका नेता,जनप्रतिनिधि, कार्यकर्ता, सुभेच्छुक, पत्रकार, सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । राष्ट्रिय स्तरका कलाकार राधिका हमाल, सृजना खत्री लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुती र लोक संस्कृति झल्कने पञ्चेबाजा, पैसेरी नाँच समेत प्रस्तुत गरिएको थियो । विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा आउने व्यक्तिहरुलाई पार्टी प्रवेश समेत गराइएको थियो । कार्यक्रमको संचालन पार्टीका सचिब एवं शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले गरेका थिए ।