हेटौँडा । चर्च ब्वाइज युनाइटेड मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रवार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।
चर्च ब्वाइजको जितमा विदेशी खेलाडी आर्मण्डले खेलको दोस्रो हाफको २८औँ र ३२औँ मिनेटमा गोल गरे भने सुमित श्रेष्ठले खेलको ८५औँ मिनेटमा गोल गरे। एपीएफका लागि बुद्धिमान राईले खेलको पहिलो हाफको ३६औँ मिनेटमा र हरि कार्की दोस्रो हाफको ४३औँ मिनेटमा गोल गरे।
खेलको म्यान अफ द म्याच आर्मण्ड घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। जितसँगै चर्च ब्वाइज गोल्डकपको फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ। प्रतियोगितामा एपीएफले संकटालाई र चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।एपीएफ गत संस्करणको उपविजेता हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोली हो। गत संस्करणमा एपीएफ मछिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि शनिवार मछिन्द्र फुटबल क्लब र थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल सोमवार हुनेछ। प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीलाई जनही २५र२५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।