काठमाडौं । भारतको ओडिसा स्थित किट कलेजले नेपाली छात्राको मृत्यु प्रकरणमा ५ जनालाई कारबाही गरेको छ । दुई सुरक्षा गार्डहरूलाई निष्कासित गरिएको छ भने तीन कर्मचारीहरू निलम्बनमा परेका छन् । किट कलेजका रजिस्ट्रारले एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन् । १६ फेब्रुअरीमा भएको घटनालाई लिएर कलेजका अधिकारी र सम्पूर्ण कर्मचारीहरूलाई गहिरो अफसोच भएको सूचनामा उल्लेख छ ।
सूचनाअनुसार दुई सुरक्षा कर्मचारीहरू तत्कालै हटाइएका थिए । यस्तै दुईजना होस्टल कर्मचारी र इन्टरनेसनल रिलेसन्स अफिस ९आइआरओ० का एक वरिष्ठ प्रशासकीय अधिकृतलाई निलम्बन गरिएको हो । उनीहरूले नेपाली विद्यार्थीहरूलाई छिटोभन्दा छिटो कलेज छोड्न दबाब दिएका थिए । नेपाली विद्यार्थीहरूलाई सो कलेजमा फिर्ता गराउने कार्यमा सहजीकरण गर्न एउटा कन्ट्रोल रुम २४ सै घण्टा खुला राख्ने पनि कलेजको सूचनामा उल्लेख छ ।
उक्त घटनामा नेपाली विद्यार्थीहरूसँग आफ्ना कर्मचारीहरूले बोलेका केही कुराहरूलाई लिएर कलेजले माफी मागेको छ । कलेजभित्र सुरक्षित वातावरण बनाइने पनि विज्ञप्तिमा जनाइएको छ । ‘क्याम्पसमा नेपाली विद्यार्थीहरूलाई फर्काउन सहज बनाउन क्याम्पस ६ मा एक प्रतिबद्ध नियन्त्रण कक्ष चौबिसै घण्टा सञ्चालनमा छ,’ विज्ञप्तिमा भनिएको छ । बुटबल घर भएकी २० वर्षीया प्रकृति लम्सालको आइतबार मृत्यु भएको थियो । सोही कलेजमा अध्ययनरत विद्यार्थीले मानसिक यातनाका कारणले लम्सालको मृत्यु भएको भन्दै विद्यार्थीहरू आन्दोलनरत छन् ।