काठमाण्डौ. । मातृभुमि जागरण अभियानका संयोजक डा. भीम रावलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका जनताप्रति जिम्मेवार नरहेको गम्भीर आरोप लगाएका छन् ।
मंगलबार बिहान सामाजिक संजाल फेसबुकमा लेख्दै रावलले ओलीका विभिन्न १५ बुदाँमा ओलीले गरेका कामको बेलीविस्तार लगाउँदै देश र जनताप्रतिको जिम्मेवार चरित्र र प्रवृत्तिलाई उदाङ्गो पारेको बताएका हुन्।
फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई कारबाई गर्नु त टाढाको कुरा स्पष्टीकरणसम्म पनि नसोध्ने, उल्टै राज्य र पार्टीका महत्त्वपूर्ण पद र अवसर दिने तर आलोचना र टिप्पणी गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई कार्वाईको डन्डा चलाउने कार्यले पनि उनी पार्टी र जनताप्रति इमानदार नरहेको प्रस्ट हुने रावलको भनाइ छ ।
भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याउने र त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोक्ने दुराशयले संक्षिप्त प्रक्रियाद्वारा अध्यादेश पारित गर्ने निर्णय मन्त्रिपरिषद्बाट गर्ने काम पनि जनविरोधी भएको उनले उल्लेख गरेका छन् ।