दिल्ली । कालिंगा इन्स्चिट्युड अफ इन्डस्ट्रियल टेक्नोलोजी ( किट ) मा रहेका नेपाली विद्यार्थीहरू छात्रावासमै बसेर पढ्न पाउने भएका छन्।दिल्लीस्थित नेपाली दूतावासले उडिसाको घटनाबारे विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूलाई शैक्षिक संस्थाको छात्रावासमा बस्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको र त्यस अनुसार नै शैक्षिक संस्थाले व्यवस्था गरेको जनाएको छ। राजदूत शंकर शर्माले शैक्षिक संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिहरूसँग छलफल गरेको पनि विज्ञप्तिमा उल्लेख छ।
‘राजदूतावासले सो शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो। त्यसैगरी, उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरूको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूको लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ।’
उक्त शैक्षिक संस्थाकी विद्यार्थी प्रकृति लम्सालको मृत्युको सम्बन्धमा भने निष्पक्ष अनुसन्धानमा जोड दिएको र संस्थाले पनि गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।दूतावासले नेपाली नेपाली विद्यार्थी लगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरूसँग पनि सम्पर्क गरिरहेको उल्लेख गरेको छ। यस्तै इन्स्चिट्युडले पनि सूचना जारी गर्दै नेपाली विद्यार्थीहरूले छात्रावासमै बस्न पाउने जनाएको हो।