काठमाण्डौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी ९साम्बा० अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न फ्रान्सको पेरिसबाट फर्किएकी छन् । आइतबार प्रि– म्याच प्रेसमिटमा प्रशिक्षकले दिएको जानकारी अनुसार सावित्राले आज हुने खेल खेल्ने सम्भावना भने न्यून छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ ( एन्फा ) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए ।
चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदै छ । आज आफ्नो पहिलो खेलमा घरेलु टिम नेपालले कीर्गिस्तानको सामना गर्नेछ । खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । सन् २०१९ पछि नेपालले कीर्गिस्तानसँग पहिलोपटक खेल्न लागेको हो ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक राजेन्द्र तामाङले च्याम्पियनसिपका लागि आफ्नो टिम तयार भएको र जित निकाल्न खेल्ने बताएका छन् । प्रशिक्षक तामाङले पहिलो खेलको प्रतिद्वन्द्वी कीर्गिस्तान अहिले बलियो रहे पनि निश्चित योजना बनाएर मैदानमा जित निकाल्न उत्रिने बताए । कीर्गिस्तानविरुद्धको पहिलो खेलमा जित निकाल्न सचेत रहेर खेल्ने प्रशिक्षक तामाङको भनाइ छ ।
नेपाली महिला टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले मैदानमा राम्रो खेलेर आफूलाई प्रमाणित गर्ने बताइन् । राम्रो टिमवर्क र तयारी भएकाले पहिलो खेलमा जित निकाल्ने आशा उनको छ । कप्तान सुब्बाले यसअघिका गल्तीलाई सुधार गरेर मैदानमा उत्रिने बताइन् । एएफसी एसियन कप र फिफा महिला विश्वकपको तयारी स्वरूप एन्फाले चार देशीय च्याम्पियनसिपको आयोजना गरेको हो । चार देशीय च्याम्पियनसिपमा नेपालसँगै म्यानमार, कीर्गिस्तान र लेबनान सहभागी छन् ।