कैलाली । सुदूरपश्चिम प्रदेशका चार संसदीय समितिका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सामाजिक विकास समितिमा नेकपा एमालेका धर्मराज पाठक, सार्वजनिक लेखा समितिमा माओवादीका अक्कल रावल, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिमा काँग्रेसकी तुलसी देवकोटालाई आइतबार सभामुख भीम भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
ज्येष्ठ सदस्यको भरमा रहेका यहाँका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र विशेषाधिकार समितिले करिब एक वर्षपछि आज सभापति पाएका हुन् । शनिबार सबै समितिमा एक(एक जनाको मात्रै उम्मेदवारी परेको थियो । चार वटै समितिमा चार जनाको मात्रै उम्मेदवारी परे पनि आइतबार मात्रै उनीहरू निर्वाचित भएको घोषणा गरिएको हो ।
पुस ११ मा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार दलहरूले आफ्ना उम्मेदवारलाई सम्बन्धित समितिमा उम्मेदवारी दिन लगाएका थिए । सुदूरपश्चिम प्रदेशका सबै संसदीय समितिमा यसअघि नै निर्वाचन भएर सभापति चयन भइसकेको थियो, तर विधायन तथा प्रदेश मामिला समितिबाहेकका तीन समितिका सभापति नै मन्त्री भएपछि ती समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेका थिए । विधायन तथा प्रदेश मामिला समितिमा भने देवानसिंह विष्ट सभापति छन् ।