काठमाण्डौं । पोखरामा बेलुन पड्किएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन् । साथै समितिमा एक जना विस्फोटक पदार्थ विज्ञ समेत हुनेछन् ।
समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ। शनिबार पोखरा प्रदर्शनी केन्द्रमा भ्रमण वर्ष उदघाटन गर्ने क्रममा हाइड्रोजन भरिएका बेलुनका झुप्पा आगोको झिल्कामा परी विष्फोट भएको थियो । त्यसमा परी अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर आचार्य घाइते भएका थिए । उनीहरु दुवैलाई शनिबार नै काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याएर उपचार भइरहेको छ ।