काठमाण्डौं । सत्तारुढ दलहरूको प्रमुख सचेतकहरूको बैठकले विचाराधीन विधेयकहरूलाई चाँडै नै निष्कर्षमा पुर्याउने निर्णय गरेको छ । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले निजामती, शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरू विचाराधीन रहेकाले यी विधेयक दुवै हाउसबाट निष्कर्षमा पुर्याउने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
अहिले सांसदहरू उपत्यका बाहिर भएकाले सातारदश दिन लाग्ने उनको भनाइ छ । ‘कोही सांसद कुम्भ मेला जानुभएको छ । कोही निर्वाचन क्षेत्रमा हुनुहुन्छ । ६ गते पेश गर्ने भन्ने कुरा थियो । तर, सातारदश दिनपछि लैजाने कुरा भयो’, अध्यादेशहरू भने केही समयपछि पेश गरिने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीसँग बताए ।
घिमिरेले अध्यादेश पारित गराउन जसपा नेपालसँग पनि सहज वातावरणमा कुरा भइरहेको बताए । ‘सहमतिको वातावरण बन्ने अवस्था छ । सत्ता पक्षको बेन्चमा हुनुन्छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभएको छ । उहाँहरूको हैसियतअनुसारको डिमान्ड जायज हुन्’, घिमिरेको भनाइ थियो । शनिबार बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले भूमि बाहेकका अन्य अध्यादेश तत्काल दुवै सदनमा टेबल गर्ने सहमति जुटाएको थियो । संघीय संसद्का दुवै सदनको बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ ।