काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । कीर्तिपुर बर्न अस्पतालमा पुगेर आइतबार उनले घाइतेद्वय पौडेल र आचार्यको अवस्थाबारे जानकारी लिएका हुन् ।
बर्न अस्पतालको सघन उपचारकक्ष ( आईसीयू ) मा अर्थमन्त्री पौडेल र मेयर आचार्य उपचाररत छन् । शनिबार पोखरामा ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रममा बेलुन पड्कँदा उनीहरू घाइते भएका हुन् । राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले स्वास्थ्योपचार र उपचार प्रक्रियाबारे जानकारी दिएका थिए ।
पौडेल र आचार्यलाई ४८ घण्टासम्म कीर्तिपुर अस्पतालको सघन उपचार कक्ष ( आइसीयु) मा राखेर उपचार सुरु अघि बढाइएको छ।अर्थमन्त्री पौडेलको घाँटी र दुबै हातको हत्केलाको माथिल्लो भागमा जलन भएको छ। कम्तीमा पनि ४८ घण्टा सघन उपचार कक्ष ( आइसीयु) मा राखेर उपचार गरिने अस्पतालले जनाएको छ। मन्त्री पौडेलको ५ देखि ६ प्रतिशत र मेयर आचार्यको ३ देखि ४ प्रतिशत जलन भएको छ।