हेटौंडा । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबसम्म मुलुकका भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउन सकिँदैन तबसम्म मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । भ्रष्टाचारीहरु जहाँ जुन अवस्थामा छन् तिनीहरुलाई जनताकै बलले ठेगान लगाउनु पर्छ,ु उनले भने ।
मकवानपुरको वाग्मती गाउँपालिकास्थित शहीद स्मृति रंगशालामा शनिबार सातौं वाग्मती गोल्डकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै उनले सुशासनको पक्षमा र भ्रष्टाचारीहरुको विरुद्धमा माओवादीले सञ्चालन गरेको अभियानमा सबै जोडिन आग्रह गरे । भ्रष्टाचारीलाई तह नलगाएसम्म समाजमा विकृति र विभेद कायम रहिरहने उनको भनाइ छ । खेल क्षेत्रले मुलुकको प्रतिष्ठा बढाएको चर्चा गर्दै उनले भने,‘यस्ता रंगशालाहरुले खेलाडी उत्पादन गर्न योगदान पुर्याउने छ ।’
कार्यक्रममा वाग्मती गाउँपालिकाले आफ्नै लगानीमा झुरझुरेमा निर्माण गरेको शहीद स्मृति रंगशालाको पनि पूर्वप्रधानमन्त्री दाहालले एक समारोहबीच उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री एवं सोही क्षेत्रका संघीय सांसद दीपकबहादुर सिंहले मुलुकमा बेथिती र विकृति बढेकोमा चिन्ता गर्दै खेल क्षेत्रले मुलुकको प्रतिष्ठा दैनिक रुपमा बढाउँदै लगेको बताए ।