काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा) ले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज ( बुधबार ) एक विज्ञप्ति जारी गर्दै जनताको हितविपरीत रहेकाले अध्यादेश अस्वीकार गर्ने बताएका हुन् ।
भूमिसम्बन्धी अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाको निष्कर्ष रहेको छ । ‘यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढवा दिने हाम्रो ठहर छ । समग्रमा यो अध्यादेश जनताको हितविपरीत रहेको हाम्रो स्पष्ट धारणा छ, अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तो अध्यादेश यथास्थितिमा समर्थन गर्न नसकिने अध्यक्ष ठाकुरले बताएका छन् । वर्तमान सरकारमा सहभागी रहेको लोसपाको राष्ट्रिय सभामा एक सिट रहेको छ । प्रतिनिधि सभामा दुई तिहाइभन्दा बढी बहुमत पाएका प्रधानमन्त्री ओली राष्ट्रिय सभामा भने अल्पमतमा छन् ।
राष्ट्रिय सभामा निर्णायक मानिएको जनता समाजवादी पार्टी ( जसपा) नेपालले यसअघि नै भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसकिने निर्णय सुनाइ सकेको छ । भूमिसम्बन्धी अध्यादेशलाई लिएर प्रधानमन्त्री ओली नैतिक तथा राजनीतिक संकटमा परेका छन् ।