काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्र डुवानमा परेको छ । मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र डुवानमा परेको हो । दिउँसो २ बजे आसपासमा पाइप फुटेपछि बबरमहलको जिल्ला अदालत,विषेश अदालत परिसर डुवानमा परेको हो ।
यस्तै, विशेष अदालत र काठमाडौं जिल्ला अदालतको पुरानो भवनको भुइँतला पानीले डुबाएको छ । बाढीका कारण विशेष अदालतको प्रशासनिक भवनको भुइँतला जलमग्न भएको छ ।
पाइप विस्फोट हुँदा बबरमहलमा सडकसमेत भासिएको छ ।
सडक डिभिजन, काठमाडौंका साइट इन्जिनियर अर्जुन नेपालले पनि प्राधिकरणले ड्रिलिङ गर्दा नै पाइप फुटेपछि जलमग्न भएको बताए । उनले भने, प्राधिकरणले तार बिछ्याउने क्रममा पाइप फुटेको हो ।
सडक पनि भासिएको छ । अब प्राधिकरणले त्यो बनाउँछ । जसले बिगारेको हो त्यसैले बनाउने हो ।
सरकारी भवनमा पानी जमेपछि त्यहाँ अलपत्र परेका कर्मचारी र सर्वसाधारणको उद्धार गरिएको छ।
त्यस्तै महत्त्वपूर्ण कागजात पनि सुरक्षित स्थानमा सारिएको छ ।