काठमाण्डौ। इजरायल र हमासबीचको जारी युद्धविराम सम्झौतामा समस्या देखिएको छ । हमासले तत्कालका लागि बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेको छ । साथै इजरायलले युद्धविराम सम्झौताको उल्लंघन गरिरहेको पनि हमासले आरोप लगाएको बीबीसीले जनाएको छ । हमासले आफ्नो वक्तव्यमा भनेको छ(पछिल्लो तीन सातामा हाम्रो नेतृत्वले देखिरहेको छ कि दुश्मनले पटक(पटक युद्धविराम सम्झौताको उल्लंघन गरेको छ र, सम्झौताका सर्तहरूको पालना गरेको छैन ।
हमासले विस्थापित भएका प्यालिस्टिनीहरूलाई उत्तरी गाजामा फर्कनाका लागि भइरहेको ढिलाइलाई पनि यसको कारण मानेको छ । यसका साथै इजरायलले गाजा पट्टीका कतिपय क्षेत्रहरूमा गोलीबारी गरिएको पनि हमासको आरोप छ । यद्यपि, इजरायलले यसबारेमा केही प्रतिक्रिया दिइसकेको छैन । सम्झौताअनुसार आगामी शनिबार बन्धकहरूलाई रिहा गर्ने भनिएको थियो ।
नेपाली विद्यार्थी विपिन जोशी पनि हमासको कब्जामा छन् । र, लामो समयदेखि उनको अवस्था अज्ञात छ । इजरायल र हमासबीच युद्धविराम भएसँगै उनी सकुशल फर्कने अपेक्षा थियो । तर, हमासको पछिल्लो निर्णयले त्यसमा संशय बढाउन सक्ने देखिएको छ । यसअघि पनि बारम्बार युद्ध विरामको प्रक्रियामा अवरोध आएको थियो। एक इजरायली सर्वसाधारण बन्दीलाई रिहाइ गर्न ढिलाइ गरेको भन्दै दुई दिन इजरायलले गाजबासीलाई फर्कनमा अवरोध सिर्जना गरेको थियो।
१९ जनवरीमा युद्ध विराम सुरु भएयता १६ इजरायली र ५ थाई बन्दीलाई हमासले छाडी सकेको छ। यसको बदलामा इजरायलले ५६६ जनालाई जेलबाट छुटाएको छ। पहिलो चरणमा ३३ बन्दीको बदलामा इजरायलले जेलमा रहेका १९ सय जना प्यालेस्टाइनीलाई छाड्ने अपेक्षा गरिएको छ। बीबीसी