काठमाडौँ। काठमाडौँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध आठ करोड ६९ लाख ८७ हजार १०५ रुपियाँको भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नगर प्रमुख पदमा निर्वाचित हुनुपूर्वको बस्नेतको परिवारका सदस्यका नाममा विभिन्न बैङ्क तथा वित्तिय संस्था र सहकारी संस्थामा रहेका खातामा सुरु मौज्दात बापतको रकम, पारिश्रमिक, दैनिक भ्रमण भत्ता लगायत निजका एकाघर परिवारका सदस्यको कुल आय १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपियाँ रहेको छ।
आयोगका अनुसार बस्नेतको सोही अवधिमा जाँच गर्दा व्ययतर्फ जग्गा खरिद, घर निर्माण खर्च तथा मर्मत, अपार्टमेन्ट खरिदका लागि बुकिङ्ग प्रयोजनमा भएको खर्च तथा लगानी लगायतको रकम २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपियाँ रहेको देखिएको छ। सो अवधिमा कुल आयभन्दा खर्च बढी देखिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। कुल खर्च तथा लगानी रकम आठ करोड ६९ लाख ८७ हजार १०५ रुपियाँ बिगो कायम गरी बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम कैद र बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ।
उनी नागार्जुन नगरपालिकाको मेयर भएपछि अस्वभाविक रुपमा आर्जन हुने क्रम बढेको भन्दै अख्तियारले त्यसलाई ‘सार्वजनिक पदको दुरुपयोग’ भनेको हो । अख्तियारले लुकाएको र व्यवस्थापन गरेको सम्पत्ति जफत गर्न उनकी पत्नी उर्मिला बस्नेतमाथि पनि मुद्दा दायर गरेको छ । नागार्जुनका मेयर बस्नेतमाथि यसअघि नै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । गैरकानुनी रुपमा प्लटिङको काममा लागेको अनि नगरपालिकाको स्रोतसाधन दुरुपयोग गरी प्लटिङबाट लाभ लिएको भनी अख्तियारले उनीमाथि दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
बस्नेतले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट निजको श्रीमती उर्मिला बस्नेतका नाममा रहेको नगद मौज्दात रकम, खरिद गरिएका घरजग्गा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनार्थ आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।