काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति ) को महाधिवेशन आजदेखि शुरु हुँदैछ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजबाट शुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ। महाधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ। साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रिय समिति चयन गरिनेछ।
नेपाल समाजवादी पार्टी ( नयाँशक्ति ) का प्रवक्ता कृष्ण शर्मालेनयाँशक्ति पुरानो युगका मान्यता, दर्शन र सैद्धान्तिक आधारहरुलाई नयाँ युगको आवश्यकताअनुसार ढाल्ने लक्ष्यका साथ बनेको भन्दै महाधिवेशन नेपालको राष्ट्रिय राजनीतिलाई नयाँ दिशा दिने एउटा वैकल्पिक राजनीतिक धार भएको बताए । उनले भने, ‘नयाँशक्तिको प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछौ । पार्टीको आन्तरिक जीवनमा महत्वपूर्ण कार्यक्रम हो भने राष्ट्रको जीवनमा एउटा नयाँ परिघटना हो ।
हामीले नयाँशक्तिको मात्रै महाधिवेशन गर्दै छैनौं, नेपालको राजनीतिक प्रणालीलाई पुनर्संरचना गर्ने, पुरानो युगका जति पनि मान्यता, दर्शन र सैद्धान्तिक आधारहरु थिए, तिनीहरुलाई पुनर्संरचना गरेर नयाँ युगको आवश्यकताअनुसार दार्शनिक मान्यता, प्रणालीहरुको स्थापना गर्ने हाम्रो लक्ष्य हो । त्यसकारण नयाँशक्तिको मात्र महाधिवेशन होइन, नेपालको राष्ट्रिय राजनीतिलाई नयाँदिशा दिने एउटा वैकल्पिक राजनीतिक धारको हो ।’उनका अनुसार महाधिवेशनका लागि एक हजार ५०० जना महाधिवेशन प्रतिनिधि छन् ।
यीमध्ये एक हजार ३५० जना चुनिएर आएका छन् । बाँकी मनोनीत हुनेछन् । १० प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने विधानमा व्यवस्था छ । कात्तिकमा पोखरामा भएको विधान अधिवेशनले निर्णय गरेअनुसार केन्द्रीय समिति ९९ सदस्यीय छ । यीमध्ये ८९ जना महाधिवेशनबाट निर्वाचित भई आउनुपर्ने र १० जना मनोनीत रहने व्यवस्था छ ।