दाङ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले थारू समुदायको उत्थान गर्न आरक्षण आवश्यक रहेको बताएका छन् । दाङको दंगीशरण गाउँपालिका(३ स्थित चखौरामा मटावाँ, बरघर ९भलमन्सा० संघको आयोजनामा भएको दुई दिने सांस्कृतिक तथा रैथाने खाना महोत्सवको शनिबार उद्घाटन गदै पूर्वप्रधानमन्त्री देउवाले थारू समुदायको कला, सीप र संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने आवश्यक औंल्याए ।
उनले थारू समुदाय कला र संस्कृतिमा धनी भए तापनि यसको बजारीकरण र प्रवर्द्धन हुन नसक्दा युवा पुस्तामाझ पुग्न नसकेको बताए ‘थारू समुदाय अझै पनि शिक्षाबाट बञ्चित छ’, उनले भने, ‘समुदायका अगुवाहरूले शिक्षाको क्षेत्रमा विशेष ध्यान दिनुपर्छ ।’ उनले दाङको विकासका लागि टरीगाउँ धावनमार्ग विस्तार अपरिहार्य रहेको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको मौलिक कला र संस्कृतिको संरक्षण गर्दै यसलाई आर्थिक आम्दानीसँग जोड्न आवश्यक रहेको बताए ।
उनले प्रदेश सरकारले थारू सांस्कृतिक संग्रहालय र होमस्टे सञ्चालन र समुदायमा सीप हस्तान्तरणलाई पनि प्राथमिकता दिएको बताए ।थारू समुदायले परम्परागत रूपमा उत्पादन गरेको स्थानीय मदिरालाई बजारसँग जोड्न प्रदेश सरकारले प्राथमिकता दिए पनि संघीय सरकारबाट कानूनी व्यवस्था नहुँदा ब्रान्डिङ र लेबलिङमा समस्या देखिएको उनले उल्लेख गरे । मटावाँ, बरघर ( भलमन्सा ) का केन्द्रीय अध्यक्ष तथा लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महोत्सवमा दाङ र नवलपरासीको थारू समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच, मघौटा, छोक्रा, हुर्डुंग्यालगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत गरिने र महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवं थारू लगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी पनि राखिएको बताए ।
थारू परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुंगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचारलगायत जनजातिहरूको रैथाने परिकार बिक्री तथा वितरणका लागि उपलब्ध छन् । महोत्सवमा लुम्बिनीसँगै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थारूहरूले मौलिक भेषभुषासहित सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्नेछन् । महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्लाका हजारौं मटावाँ, बरघर ( भलमन्सा ) , ककन्डर्वालगायत थारू समुदायको उपस्थिति रहेको छ ।