खोटाङ । शुभद्रा मदन फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेका मदन राईलाई साढे दुई वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले उनलाई बाल यौन दुरुपयोग दोषी ठहर गर्दै साढे २ वर्षको जेल सजाय तोकेको हो। अदालतले ७५ वर्षीय राईलाई यसअघि माघ १० गते दोषी ठहर गरेको थियो।
एक लाख रुपैयाँ जरिवाना र एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन पनि आदेश भएको छ । माघ १० गते न्यायाधीश दाहालको इजलासले राईलाई दोषी ठहर गर्दै आज अर्थात २५ माघमा सजाय सुनाउने मिति तय गरेको थियो । आफैँले स्थापना गरेको फाउन्डेसनमा पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको मुद्दामा राई दोषी ठहर भएका हुन् ।
आफूलाई कृषि वैज्ञानिक भन्ने राईले आफू र आफ्नो श्रीमतीको नामबाट स्थापना गरेको शुभद्रा–मदन फाउन्डेसनमार्फत सञ्चालन गरेको विद्यालयमा अध्ययनरत छात्राहरूलाई निर्वस्त्र भई अश्लील शब्दहरू प्रयोग गर्ने, निर्वस्त्र भई मसाज गर्न लगाउने, संवेदनशील अङ्गहरूमा हात हाल्ने र शारीरिक सम्पर्कका लागि आग्रह गर्ने गरेका थिए ।