चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले चितवन जिल्ला अदालतमा धरौटीवापत बैंक ग्यारेन्टी बुझाएका छन् । न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतको आदेश बमोजिमको बैंक ग्यारेन्टी बुझाएर लामिछाने हिरासत मुक्त भएका छन् । त्यस क्रममा लामिछानेले आफ्नो सांसद पद जालझेल गरेर निलम्बन गरिएको आरोप लगाएका छन् ।
चितवन जिल्ला अदालतबाट बिहीबार धरौटीमा रिहा भएपछि लामिछानेले दुईपल्ट निर्वाचित हुँदा पनि सांसद पद निलम्बन गरिएको बताएका हुन् । अदालतबाहिर लामिछानेले भने, मलाई यहाँबाट न्याय नहुने भन्ने कुनै प्रश्न छैन । चितवनवासीले मेरो न्यायका लागि बारम्बार लड्नुभएको थाहा छ । चितवनवासीले दुईपल्ट निर्वाचित गरेर मलाई पठाउँदा जालझेल गरेर मेरो सांसद पद निलम्बन गरिएको छ ।लामिछानेले चितवनबाट परिवर्तनको जन्म हुने पनि दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले चितवनबाट परिवर्तन जन्मिएरै छाड्ने प्रतिक्रिया दिएका छन् ।
उनले चितवनलाई देवभूमि भएकाले यही भूमिबाट देशले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको जिकिर गरे । हाम्रो चितवन भनेको देवभूमि हो । देवता बस्ने ठाउँ हो । देवताजस्ता मान्छे बस्ने ठाउँ हो यो । त्यसकारण यसले मलाई होइन देशलाई न्याय गर्छ भन्ने कुरामा विश्वस्त छु,’ सभापति लामिछानेले भने, ‘अहिले कुम्भमेला चलेको छ भनिएको छ । हाम्रो देवघाटमा स्नान गर्नु भनेको कुम्भमेलामा सयौंपटक स्नान गर्नु बराबर हो भनेर सयौं मान्छेले भनेका छन् ।
मुलुकलाई परिवर्तन गर्नका लागि चितवनले पीडा भोगिरहेको उनको भनाइ थियो । आफूले धेरै कुरा राख्नुपर्ने भए पनि अहिले उचित समय नभएको उनको भनाइ थियो । आवश्यक समयमा आफूले सबै कुराको जवाफ दिने पनि उनले बताए । लामिछानेले यसअघि आफ्नो सांसद पदमा भएको निलम्बन फुकाइदिन सभामुख देवराज घिमिरेलाई निवेदन दिएका थिए । रास्वपाले संसद्मा लामिछानेलाई निलम्बन गर्नका लागि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको बताउँदै आएको छ ।