काठमाडौं । सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता हुन भनेको हो । साथै कम्पनी नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्न समेत भनेको छ ।
सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०६० को दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने वा सञ्चालनमा रहेका व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने तथा सोही निर्देशिकाको दफा ६ मा उल्लिखित व्यक्ति, कम्पनी वा संस्थाले नेपाल भित्र सम्पर्क बिन्दु ( पोइन्ट अफ कन्ट्याक्ट ) को व्यवस्था गर्नुपर्ने उल्लेख रहेको स्मरण गराएको छ ।
‘नेपालभित्र सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने वा गरेका व्यक्ति, कम्पनी वा संस्थाले यस निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्न तथा नेपाल भित्र सम्पर्क बिन्दु ( पोइन्ट अफ कन्ट्याक्ट ) को व्यवस्था सहित निर्देशिकाको प्रावधानहरुको पालनाको सुनिश्चितता गर्नुहुन यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराईन्छ। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका बमोजिमको व्यवस्था पालना नभएमा सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने व्यहोरा समेत अनुरोध छ।
नेपालमा फेसबुक, युट्युब, एक्स ( ट्वीटर) , इन्स्टाग्राम, थ्रेड्स, एक्स, टिकटकलगायत विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल चर्चित छन् । यीमध्ये टिकटकले नेपालमा दर्ता प्रक्रिया सुरु गरेको छ भने अन्य कम्पनी नेपालमा दर्ता भएका छैनन् । सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा सम्पर्क कार्यालय, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान निर्देशिकामा रहेको छ । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गरिसकेको छ ।
सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न विधेयक ल्याइएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।