बागलुङ । ३० करोड रुपैयाँ लगानीमाआइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शनिबार बागलुङमा आयोजित एक भव्य समारोहमा इला कम्फोर्ट होटलको सेवा सञ्चालनको उद्घाटन गरेका हुन् ।
होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोकमार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थलभ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाहरूका लागि गुणस्तरीय सेवा सुविधा रहेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले आइएमई ग्रुपले पर्यटन पूर्वाधारका क्षेत्रमा गरेको लगानीले मुलुककै पर्यटन उद्योगमा सकारात्मक प्रभाव पारेको बताए ।
सो अवसरमा गण्डकी प्रदेश सरकारका मन्त्री कृष्ण पाठकले आइएमईले मुलुकभर पर्यटन पूर्वाधार विकासमा गरेको लगानीको चर्चा गर्दै गण्डकी प्रदेशमा थप लगानीका लागि आह्वान गरे । सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा सञ्चालनमा ल्याएको यो होटलले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
साथै, उनले मुलुकभित्र लगानी र रोजगारीको वातावरण नहुँदा विदेशिन बाध्य भएका लाखौं नेपालीको भावनालाई समेटेर आफूले मुलुकका सातवटै प्रदेशमा होटल तथा केवलकारसहितका पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको बताए । करिब ३० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको यो होटलले बागलुङमा स्तरीय आवासको लागि नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ । लगभग ४ रोपनी जग्गामा फैलिएको, इला कम्फोर्ट बागलुङमा २७ अतिथि कक्ष, दुई सुन्दर सुइटहरू र एक विशेष पेन्ट हाउससहित ३० वटा आकर्षक ढङ्गले डिजाइन गरिएका कोठा छन्।
प्रत्येक आवासलाई परम्परागत आतिथ्यभन्दा नयाँ ढङ्गले असाधारण अनुभव महसुस हुने गरी तयार पारिएको छ । इला होटल तथा रिसोर्टका प्रमुख सचिन ढकालले इला होटल्स एण्ड रिसोर्ट केवल नयाँ आतिथ्य ब्रान्ड मात्र नभएर यसले बागलुङ बसाइलाई अविस्मरणीय अनुभवहरूमा रूपान्तरण गर्ने बताएका छन् ।
प्रमुख ढकालले भने, “इला कम्फर्ट बागलुङमा, हामी केवल कोठाहरू प्रदान गर्दैनौँस हामी हाम्रा पाहुनाहरूलाई उनीहरूको प्रस्थान पछि पनि लामो समयसम्म सम्झन लायक क्षणहरू सिर्जना गर्ने छौँ।”इला कम्फर्ट बागलुङले इला ब्राण्डको होटल विस्तार रणनीतिको पहिलो चरणको प्रतिनिधित्व गरेको छ। नवलपरासीको गैँडाकोटमामा इला होटल सुरु गर्ने तयारी भइरहेको छ भने नेपालका सबै सातै प्रदेशहरूमा सेवा विस्तार गर्ने योजना छ ।