काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको रास्वपा संसदीय दल बैठकले सरकारले सदनलाई छलेर अध्यादेश ल्याएको भन्दै अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको हो ।केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारले संसद छलेर ल्याएकाले अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए।
रास्वपाका संसदीय दलको नेता तथा पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेर प्रतिनिधिसभा नियमावलीविपरित निलम्बन गरेको विषयमा पनि बिरोध जनाउने उनले बताए। उनले भने, ‘उहाँको सांसद पद निलम्बन भएको छ। त्यो प्रतिनिधि सभाको नियमावली र संविधानसँग मिल्दैन। उहाँलाई अन्य मुद्दासँगै सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको छ। त्यो संविधानको विपरित छ। हामीले चाँडै न्याय पाउँछौं। उहाँ चाडै संसद फर्किनुहुन्छ। त्यसैले हामी अहिले दलको उपनेताबाटै कामकारबाही अघि बढाउँछौं।’
त्यस्तै बैठकले पार्टी सभापति विरुद्धको राजनीतिक प्रतिशोधको विषय उठान गर्ने, सहकारीका मुद्दा, अर्थतन्त्रका विषय, असन्तुलित परराष्ट्र नीतिका विषयमा समेत सदनमा सशक्त रूपमा आवाज उठाउने निर्णय गरेको परियारले बताए । उनले सरकार गठनका समयमा भएको सात बुँदे समझदारीको समेत विरोध गर्ने निर्णय गरिएको जानकारी दिए । ताप्लेजुङको पाथीभरामा जुन केबलकार राख्ने विषयमा स्थानीय प्रशासन र स्थानीय बासीबिचको झडपको रास्वपाले भर्त्सना गर्ने निर्णय गर्दछ । राज्यबाट भएको ज्यादतीको विरोध गर्दछौँ ।