काठमाण्डौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले काठमाडौंको बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ स्थापना गरेको छ । कृषिजन्य वस्तुको उत्पादन तथा वितरण गर्ने उद्देश्यले खोलिएको व्यापार केन्द्रको सोमवार एक कार्यक्रमबीच नेकपा महासचिव चन्द, नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा ( माओवादी केन्द्र ) का उपमहासचिव जनार्दन शर्माले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा नेकपा महासचिव चन्दले यो व्यापारिक केन्द्रले नेपालको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले केन्द्रको स्थापना कम्युनिस्ट आन्दोलनबाट प्रेरित मात्र नभई सामाजिक आवश्यकता र उद्यमी व्यवसायीहरूको सुझावका आधारमा गरिएको बताए। उनले कृषिजन्य वस्तुको आयात घटाउने लक्ष्यमा यो केन्द्र सहायक हुने धारणा राखे।
नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई नेपालको अर्थतन्त्रको आधारशीला बनाउनुपर्नेमा जोड दिए। उनले प्राकृतिक स्रोत र सम्पदाको सही सदुपयोग गर्न सके देश आयातमुखीबाट निर्यातमुखी बन्न सक्ने उल्लेख गरे। अध्यक्ष नेपालले कृषकहरूको उत्पादनको जिम्मेवारी राज्यले लिनुपर्ने र उनीहरूलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न आग्रह गरे।
नेकपा ( माओवादी केन्द्र ) का उपमहासचिव जनार्दन शर्माले प्राकृतिक स्रोतको स्वामित्व र सदुपयोग विश्वव्यापी लडाइँको मुख्य विषय बनेको बताए। उनका अनुसार, कम्युनिस्टहरूले जनताको आवश्यकताअनुसार वस्तुको उत्पादन र वितरणमा ध्यान दिने गरेका छन्। सी व्यापारिक केन्द्रमा कृषिजन्य वस्तुको उत्पादन र वितरण गरिने बताइएको छ ।