काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष निकालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले १५ बुँदे विभिन्न निर्णय गर्दै सरकार असफल भएको निक्ष्कर्ष निकालेको हो । । तीन दिनसम्म चलेको बैठकले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरु लिएको हो । सात बुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेसको गठबन्धन सरकार आफ्नो उद्देश्यबाट च्युत भएको राप्रपाले निस्कर्ष निकालेको छ ।
‘प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको १६ बुँदे बक्तव्यका अधिकांश बुँदा सरकार असफल रहेको पुष्टि गर्न खर्चिएको छ । ‘राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन गरेर मुलुकलाई दुई दलीय व्यवस्थातर्फ लैजाने सत्ता पक्षीय नेताहरूको बारम्बारको धम्की एवं हठात र अनायास संसद छलेर अध्यादेश ल्याइनु दुई दलीय सर्वसत्तावादको प्रारम्भिक अभ्यासको रूपमा रहेको छ’, वक्तव्यमा लेखिएको छ ।
आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीब्रता दिन, राजनीतिक स्थिरता प्रदान गर्न तथा राजनीतिक स्थायित्वकै लागि संविधान संशोधन र तदनुकुलको कानुन निर्माणलाई प्राथमिकता दिने भन्दै सातबुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेसको गठबन्धन सरकार, सरकार निर्माणको आफ्नो उद्देश्यबाट च्युत भएको राप्रपाको निश्कर्ष रहेको छ ।
राप्रपाले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने, अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायिक वातावरण तयारी गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त रोजगारी सिर्जना गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने, विकास निर्माणलाई तिव्रता दिने काममा सरकार पूर्णतः असफल भएको भन्दै भ्रष्टाचारजन्य गतिविधि र भ्रष्टाचारीलाई सरकारबाटै संरक्षण प्राप्त हुनु आपत्तिजनक र उदेकलाग्दो भएको निष्कर्ष निकालेको छ । राप्रपाले आफ्नो राजनीतिक एजेण्डा र जनजीविकाका पक्षमा आगामी दिनमा सडक र सदनमा सशक्त र प्रभावकारी ढंगबाट प्रस्तुत हुने वैठकको निर्णयमा उल्लेख छ ।
राप्रपाले आफ्ना मूल राजनीतिक एजेण्डा, नेपाल सरकारसमक्ष पेश गरेको ४० बुँदे माग र जनजीविकाका सवालहरुलाई लिएर विरोधसभाका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । यसका लागि फागुन महिनामा प्रदेश र जिल्ला तहमा विरोध प्रदर्शन र जागरण सभा हुनेछ भने चैत महिनामा काठमाडौं केन्द्रीत कार्यक्रम गर्ने निर्णय भएको छ । काठमाडौं केन्द्रीत कार्यक्रमको स्वरुप पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तय गर्नेछ ।