काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले ०८४ को निर्वाचनमा जनताले विश्वास गरे बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले नेकपालाई ०८४ को निर्वाचनमा जिताए राष्ट्रिय स्वाधिनताका लागि काम गर्ने बताए ।
नेपाली जनताले विश्वास गरे बहुमत वा दुई तिहाई सिट नेकपाले जित्नेसमेत उनको भनाइ छ । ‘हाम्रो पार्टीले के निर्णय गरेको छ भने एक पटक ०८४ लाई समाजवादी अभियानको निम्ति प्रयोग गर्ने, राष्ट्रिय स्वाधिनताका लागि प्रयोग गर्ने, संसदीय चुनाव हो हामीलाई थाहा छ । मान्छेले भनेका छन् हामीलाई तपाईंहरू घुम्दै फिर्दै त्यहीँ आउनुभयो नि त । हो यो चुनाव हो । हाम्रो अपिल छ नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रा लड्ने हाम्रो चाहना छ ।
काठमाडौंमा आयोजित जनपत्रकार संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसका लागि २०८४ मा जनताले नेकपाको पक्षमा मत जाहेर गर्न आवस्यक रहेको बताए । जनताले मत दिएको खण्डमा आफूहरुलाई काम गर्न सिंहदरबार नै नचाहिने उनले बताए । ‘०८४ अग्रगमनको पक्षमा व्यक्त हुन्छ, समाजवादको पक्षमा व्यक्त हुन्छ, स्वाधीनताको पक्षमा व्यक्त हुन्छ । नेपाली जनताले अहिलेसम्म प्राप्त नगरेको स्वतन्त्रता र मुक्तिको चाहना छ । त्यो प्राप्त गर्नेतिर मत व्यक्त हुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ ।
त्यसो भयो भने हामीलाई सिंहदरबार पनि चाहिँदैन, एकचोटी बालुवाटारको करोडौं करोडको खाटमा सुतेर होईन, जनताको झुपडीमा बसेर गोरूजस्तो जोतिएर देशको सेवा गर्ने चाहना नेकपासँग छ, उनले भने । विप्लव नेतृत्वको नेकपाले आगामी संसदीय निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । यद्यपि नेकपा संसदीय व्यवस्थाविरोधी दल हो । नेकपा सबैको मित्र बनेर काम गर्ने उनले बताए ।
नेकपाले देश बेचुवा दलाल र जनता लुटेर खाने माफियाबाहेक अरु सबैसँग सहकार्य गर्ने महासचिव विप्लवले बताए । ‘नेकपा सबैको मित्र, देश बेचेर खाने दलाल, लिच्चडहरु बाहेक, जनताको सम्पत्ति उडाउने माफियाहरुबाहेक सबैसँग सहकार्य गरेर यो देशलाई अगाडि बढाउने हाम्रो चाहना छ,’– उनले भने ।