काठमाडौं । सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघिको सरकारले मुलुकलाई अस्तव्यस्त बनाउने काम गरेको बताएका छन् । आइतबार सिंहदरबारमा आयोजित हुलाक सेवाको पुनसंरचना अनुसार एक स्थानीय तह एक हुलाक कार्यालय स्थापना घोषणा कार्यक्रममा मन्त्री गुरुङले यसअघिको सरकारका कारण हरेक क्षेत्रमा अस्तव्यस्त भएकाले वर्तमान सरकारले त्यसलाई सुधार गर्न खोजेको बताए ।
अत्यावश्यक क्षेत्रलाई छिटोभन्दा छिटो सुधार गर्नकै लागि सरकारले अध्यादेश ल्याउनुपरेको उनले बताए । मन्त्री गुरुङले क्रान्तिकारी काम गर्न खोज्दा सरकारबाट हटाइयो भन्ने तर्क गरेर जनतालाई ढाट्ने काम नगर्न सुझावसमेत दिए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई इंगित गर्दै यस्तो बताए ।
मन्त्री गुरुङले मुलुकको स्थायी सरकार कर्मचारीतन्त्र भएपनि यसमा नै सवैभन्दा बढी राजनीतिकरण भएकाले सरकारले सिस्टम बनाउन खाजेको बताए । सहकारी ठगी प्रक्रियामा संलग्न सबैलाई कारबाही गर्दै नियमन प्राधिकरण गठन गर्न सरकारले आवश्यक कानून ल्याउन खोजेको उनले बताए ।
मन्त्री गुरुङले नेपालको हुलाक क्षेत्रलाई राज्यले सधै उपेक्षा गरेको भन्दै अव यसलाई आधुनिकिरण गर्दै अघि बढाउने प्रतिवद्धता जनाए । सूचना र प्रविधिमा विश्वले निकै प्रगति गरिसक्दा पनि नेपाल अझै पुराना संरचनामा अड्किरहँदा विकासको गति सुस्त भएको उनको भनाइ छ। उनले भने, ‘हामीले पुराना खुकुरीले लडाई जित्न खोजिरहेका छौं, तर संसार ड्रोन युद्धमा पुगिसक्यो। पहिलेको बहादुरी सम्झेर मात्र विकास सम्भव छैन। पुराना ऐन र कानून परिवर्तन गरेर संविधानले भने अनुसार जनता र राष्ट्रको सेवा, समृद्धि र सुशासनका लागि काम गर्नुपर्छ। हामीले नीतिगत सुधार नगरीकन परिणाममुखी काम गर्न सक्दैनौं।’
मन्त्री गुरुङले हुलाक सेवाको सुधारका लागि नयाँ नीति र ऐन निर्माणको प्रक्रिया अगाडि बढिसकेको र त्यसको ड्राफ्ट तयार गर्न निर्देशन दिइसकिएको जनाए। उनले सबै स्थानीय तहमा हुलाक सेवा पुग्नु ठूलो उपलब्धि भएको जनाउँदै अबको पाँच वर्षभित्र हुलाक कार्यालयहरूको भौतिक संरचना निर्माण गरिने प्रतिवद्धता व्यक्त गरे।मन्त्री गुरुङले हुलाक जनसेवामुखी बनाउन कर्मचारीहरुलाई निर्देशन समेत दिए ।