काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा चौथो दलको रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका पनि महत्वपूर्ण छ। पार्टी सभापति न्यायिक छानविन र हिरासतमा गएपछि पार्टी नै के हुन्छ भन्ने अनेक अड्कल निकालिए पनि रास्वपा पुनः लयमा फर्किएको देखिन्छ। अब पार्टी कसरी अघि बढ्छरु सदनमा उपस्थिति कसरी देखाउँछरु भन्ने चासो नि छ। यिनै विषयवस्तुहरु समेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश ।
संघीय संसदको पाचौँ अधिवेशन यहीमाघ १८ गतेलाई बोलाइएको छ, केही दिन अगाडिको विपक्षी दलहरुको बैठकले यो अधिवेशन कतातिर जान्छ भन्ने संकेत पनि गरिसकेको छ, संसदको आउँदो अधिवेशनलाई रास्वपाले कसरी हेरेको छ ?
हामी विपक्षी दलहरुको दबाबपछि संघीय संसदका दुवै सदनको बैठक आह्वान भएको छ। त्यो स्वागतयोग्य छ। जनताका समस्या र गुनासाहरु राख्ने थलो सदनलाई नै बन्द गरेर अध्यादेशबाट देश चलाउन खोजेको हो कि भन्ने पर्न गएको थियो। त्यसलाई केही हदसम्म सरकारको कदमले निराकरण गरेको छ। हिउँदे अधिवेशन विशेषगरी कानून निर्माणको अधिवेशनको रुपमा लिइन्छ।
त्यसकारण अबको अधिवेशनमा धेरैभन्दा धेरै कानून निर्माणमा रास्वपा आफ्नो तर्फबाट सतप्रतिशत योगदान र भुमिका निर्वाह गर्छ। विगतको चार वटा अधिवेशनबाट जम्मा ११ वटा विधेयकहरु मात्र पास भएको छ। हामीले गर्नुपर्ने कामहरु एकदमै धेरै हुँदाहुँदै पनि त्यो गर्न नसकिएको अवस्था छ। अबको सदन व्यस्त होस् र त्यो व्यवस्तता कानून निर्माणमा होस् भन्ने रास्वपाको चाहना छ।
समितिहरुले विधेयकहरु माथि छलफल चलाउन सकेनन् भन्दै प्रक्रियामार्फत (बहुमतले निर्णय गर्ने वा जसरी पनि निर्णय गर्ने) अगाडि लैजाने कुराको संकेत गरेको छ, यो भनेको सदनमा पर्याप्त छलफलबिना नै छलफलहरु अगाडि बढ्ने सम्भावना छ, यसलाई रास्वपाले हेरेको छ कि छैन ?
हामीले शुरुदेखि नै संसदका दुई ठूला दल मिलेर बनेको सरकार अप्राकृतिक छ। लोकतन्त्रमा यस किसिमको गठबन्धनले संसद् र प्रतिपक्ष कमजोर हुनसक्छ। त्यसो हुँदा जनताका मुद्दाहरु ओझेलमा पर्छन् भनेर भन्दै आएको हो। त्यसमा पछिल्लो समय आएका अध्यादेशहरु हेर्दा संसदमा विचाराधीन विधेयकहरुमा पनि अध्यादेश आएको छ। यो आफैँमा संविधानको मर्मविपरीत हो भन्ने हाम्रो बुझाई छ। त्यसकारण तपाईंको प्रश्न र चासो जस्तै यो विषयलाई हामीलाई एकदमै नजिक र गौण रुपमा हेरेका छौँ।
संसदीय समितिमा होस् या सदनमा बहुमत अथवा अल्पमतभन्दा पनि जनताको विषयवस्तु उठाउनमा हाम्रो कमी हुने छैन। हामीले गएका अधिवेशनहरुमा पनि आफ्नो बलियो उपस्थिति देखाएका छौँ। अब पनि देखाउछौं। राम्रोको अर्थ जनताले जुन अपेक्षा र मागसहित हामीलाई पठाउनुभएको हो त्यो कुरा राख्न सकेको हामीलाई लागेको हुनाले अब आउने अधिवेशनलाई अझै बढी जनताका मुद्दा उठाउने गरी गृहकार्य भइरहेको छ यसमा हामी दृढ छौं। त्यही भएर अबको सदन चाहीँ विगतका सदनहरु भन्दा उत्कृष्ट बनाउनुपर्छ भनेर हामी आफ्नो तयारीमा लागेका छौँ।
पार्टी सभापतिमाथि सहकारी ठगीको मुद्दा लागिसकेपछि रास्वपा हराएको अथवा कमजोर भएको विश्लेषणहरू हुन थालेका छन्, अब रास्वपा यहाँ छ भनेर देखाउनका लागि कस्तो रणनीति बनाउनुभएको छ ?
जहाँसम्म रास्वपाको कुरा छ, पार्टी स्थापना हुँदा हाम्रो पार्टी सभापतिको फेस नै हाम्रो लागि महत्वपूर्ण कुरा थियो। यसमा दुई मत नै रहेन। तर बितेको चारवटा अधिवेशन र हाम्रो देश दौडाहा र संगठन निर्माणको कुरा र छोटो समयमा भए पनि हामीले सरकारमा रहँदा गरेका काम र त्यसले नागरिकमा पारेको प्रभावको आधारमा तपार्इंले गरेको प्रश्नमा गरिए जस्तो विश्लेषण कमजोर लाग्छ।
सदन नहुँदा उपस्थिति क्रियाशिलता कम देखिने समस्या हाम्रो मात्रै होइन सबैको हो। नेपालमा दशकौंदेखि राजनीति गर्दै आउनुभएको राजनीतिक दलहरुलाई स्थापित राजनीतिक दलको रुपमा हेर्नु र हामी भर्खरै आएको हुनाले हामीलाई त्यो नजरले नहेर्नु स्वाभाविकै हो। म त्यसलाई गलत नजरले हेर्दिनँ।
तर सदन नहुँदा संसदीय समितिहरुमा त हाम्रो उपस्थिति बलियो छ। अब दुई ठूला दल मिलेर सरकार बनेको छ। समितिमा उहाँहरुकै बहुमत छ। तर समितिमा कोरम पुग्न सक्दैन, अनि त्यहाँ रास्वपा हरायो भन्ने हो तरु बरु दुई वटा ठूला राजनीतिक दलहरु मिलेर बनेको सरकार हुँदा पनि कोरम नपुगेर समिति बैठक बस्न नसक्ने विषय त आश्चर्य हो नि।
सरकारमा रहेका दलहरुलाई प्रश्न गर्नुपर्छ। त्यसकारण हामी आफ्नो तयारी र जनताको मुद्दाहरुमा केन्द्रित छौं र हुन्छौं। विशेषगरी सुशासन र भ्रष्टाचार नियन्त्रणका हामीले उठाएको विषय यही हो र उठाउनुपर्ने विषय यही हो। त्यसमा उत्कृष्ट प्रस्तुति गर्नको लागि हामी तयारी गरिरहेका छौं।
पार्टीका गतिविधि त ठप्प छन् त, कतै केही देखिँदैन ?
त्यसो होइन, रास्वपा फैलँदो अवस्थामा छ। रास्वपा इन्स्ट्यिुसन बनिसकेको छ। यो पार्टी आफैंमा संस्था बनिसकेको छ। त्यसकारण पार्टी सभापति आफ्नो कानूनी लडाईं लड्दै गर्दा पनि पार्टी आफ्नो ठाउँमा चलिरहेको छ। अहिले रास्वपा सभापति पक्राउ पर्नुभन्दा अगाडिकै अवस्थामा छ। कमजोर छैन।
पार्टी सभापतिले कानुनी लडाइँ लड्दै गर्दा हामी पार्टीलाई अझै स्थापित गर्दै जानुपर्छ भन्ने कुरालाई लिएर अगाडि बढिरहेका छौँ। त्यो स्थापित गर्नु भनेको जनताको मुद्दामा बसहगर्नु नै हो मुद्दालाई अपनत्व दिनु हो। त्यसकारण रास्वपा अझै बलियो भएर अघि बढेको छ। र आउँदो अधिवेशनबाट राम्रो उपस्थिति देखाउन सक्छौं भन्ने हामीलाई लागेको छ।
सरकारले ल्याएका अध्यादेशबारे रास्वपाको स्पष्ट धारणा के हो, अध्यादेशको विरोध पनि गर्ने सदन पनि चल्न दिने हो भने त सरकारसँग बहुमत भएको कारणले कोर्स अगाडि बढ्छ नि होइन ?
अध्यादेशमा आएका सबै कुरा खराब नहुन सक्छन्। केही कुराहरु जनताको पक्षमा हुनसक्छन्। त्यसलाई हामीले भुल्नु हुँदैन। तर त्यसको प्रक्रिया गलत भयो भन्ने एउटा बहस हुनसक्छ। यसमा उल्लेख गरिएका कुराहरु सहीछन् तर बाटो गलत भयो भन्ने कुरा हाम्रो प्रारम्भिक धारणा हो। हामी यसमा अध्ययन गरिरहेका छौं। संसद चल्नुभन्दा एकदुई दिन अगाडि नै हामी अध्यादेशहरुमा आफ्नो स्पष्ट र औपचारिक धारणा बनाउँछौं।
संसदका दुई ठूला दल मिलेर बनेको सरकारले ६ महिना गुजारेको छ, रास्वपाले यसलाई कसरी मूल्यांकन गर्छ ?
अहिले महँगी, भ्रष्टाचार नियन्त्रण र सुशासनको विषय एकदमै महत्वपूर्ण विषय छ। संसदका दुई ठूला दल मिलेर बनेको सरकारबाट जुन प्रकारको डेलिभरीको अपेक्षा जनतामा थियो। त्यो जनताले अपेक्षा गरेभन्दा बिल्कुलै फरक हुन गयो। रास्वपाको प्रारम्भिक बुझाई यहि हो। जनताले राज्यसँग एकप्रकारको अपेक्षा गरेको हुन्छ त्यो अपेक्षा पूरा नहुँदा जनतामा निराशा छाउँछ।
पछिल्लो समय महँगी, भ्रष्टाचार र सुशासनको विषयमा हेर्यौँ भने निराशाजनक छ। भ्रष्टाचार बढेका र सुशासन खस्केको अवस्था छ। अहिले निर्माण व्यवसायी महासंघबाट डेलिगेसनहरु आइरहेको छन्। ठाँउ ठाँउमा विज्ञप्ति बुझाएर हिँडिरहनुभएको छ। सिमेन्ट उद्योगहरुले सिन्डकेट लगायो भन्ने आरोप छ।यो अवस्था आउनु भनेको सरकारको लापरबाही र सरकारप्रति जनताको मागलाई उपेक्षा गर्नु हो। जनताले अपेक्षा गरे अनुसार सरकारबाट डेलभिरी नपाएको अवस्थामा हाम्रो बुझाई दुई ठूला दल मिलेर बनेको सरकार पूर्णतः असफल र डेलिभरी दिन नसकेको निष्कर्ष हो। न्युज एजेन्सी नेपाल