काठमाण्डौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु भएका सात जना नेपालीको सनाखत भएको छ। महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको हो भने ४ जना घाईते छन् ।
रेल दुर्घटनामा ज्यान गुमाउनेहरू कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी, ४० वर्षीय लछिराम पासी, अछामका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्मा विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा, ६० वर्षीया जोक्ला उर्फ कला कामी र बाँकेका ३२ वर्षीय राधेश्याम राध छन् । दुर्घटनामा अन्य कयौँ घाइते भएका थिए हाल उनीहरूको उपचार भइरहेको छ ।
घटनाको मुख्य कारण पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला रहेको बताइएको छ। परधाडे रेलवे स्टेशनमा उक्त हल्ला फैलिएपछि आतङ्कित यात्रुहरू रेलबाट हामफाल्न थाले। यसैबीच, अर्को ट्र्याकबाट तीव्र गतिमा आइरहेको कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेसले थुप्रै यात्रुलाई किचेको जनाइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा ठूलो घुम्ती रहेकोले यात्रुहरूले अर्को ट्र्याकबाट आइरहेको रेल देख्न सकेनन्। पुष्पक एक्सप्रेस ९रेल नम्बर १२५३३० लखनउबाट मुम्बईतर्फ जाँदै थियो भने कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेस ९ रेल नम्बर १२६२९ ० यशवन्तपुरबाट हजरत निजामुद्दीनतर्फ गइरहेको थियो ।
दुर्घटनामा घाइते भएका चार जना नेपालीहरूमध्ये तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको छ। मन्त्रालयले मृतकको शव नेपाल ल्याउन र घाइतेको उपचार गर्न दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंको भारतीय दूतावाससँग समन्वय र सहजीकरण गरिरहेको जनाएको छ।