काठमाण्डौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेका पूर्वउपाध्यक्ष भीम रावलको गृहजिल्ला अछाममा बाजागाजासहित स्वागत गरिएको छ । अछाममा नेकपा एमालेका सिङ्गै वडा कमिटीहरु धमाधम मातृभूमि जागरण अभियानमा समाहित हुन थालेका छन् ।
शुक्रबार साँफेबगर नगरपालिका वडा नं ८ चण्डीका र ११ घुघुरकोटको सिंगो एमालेको वडा कमिटी अभियानमा समाहित भएको हो । एमाले चण्डीका वडा कमिटी अध्यक्ष शम्भुबहादुर कुँवरको र घुघुरकोटमा शेर बहादुर बिकको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘एमाले वडा कमिटीका सम्पूर्ण पदाधिकारी मातृभूमि जागरण अभियानमा समाहित भएको घोषणा गर्दै सोही कमिटी उक्त अभियानको तदर्थ समितिमा रुपान्तरण गर्ने निर्णय गरेको छ,’ निर्णयमा भनिएको छ ।
यस्तै मंगलसेन नगरपालिका १० जुपुमा समेत ४५ जनाले सामुहिक रुपमा नेकपा एकाले परित्याग गरि मातृभूमि जागरण अभियानमा समाहित भएका छन। एमालेको कारबाहीमा परेपछि पहिलोपल्ट गृहजिल्ला पुगेका रावललाई समर्थकहरूले साँफेबगरमा राष्ट्रिय झन्डा र बाजागाजासहित स्वागत गरेका हुन् ।
गत पुस ११ गते बसेको एमाले सचिवालय बैठकले पार्टीबाट निकालेको एक सातापछि रावलले काठमाडौँमै पत्रकार सम्मेलन आयोजना गरेर ‘मातृभूमि जागरण अभियान’ चलाउने घोषणा गरेका थिए । अभियानअन्तर्गत गृहजिल्ला पुगेका रावललाई राष्ट्रिय झन्डा बोकेका उनका समर्थकहरूले साँफेबगरमा बाजागाजासहित स्वागत गरेका थिए । अछामका बिभिन्न पालिकाहरु र बिभिन्न स्थानका कार्यक्रमहरुमा सहभागी भईरहेका डा. रावललाई अछामी जनताले साथ दिईरहेका छन् ।