रुपन्देही । पूर्वपश्चिम राजमार्गको बुटवल–गोरूसिंगे सडक चार लेनमा बिस्तारको काम शुक्रबारदेखि सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक विस्तारकोको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । यस्तै, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवलको जीतगढीमा सडक विस्तार कार्यको शुभारम्भ गरे ।
५० किलोमिटरको यो सडक रुपन्देही र कपिलवस्तुमा पर्छ । सडक कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा निर्माण सम्पन्न हुने अनुमान छ । मन्त्री सिंहले आज ब्रेक थ्रु भएको सिद्धबाबा सुरूङमार्ग र बुटवल गोरूसिंगे सडक गुणस्तरीय रूपमा र समयमै सम्पन्न गर्न आग्रह गरे । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुटवलदेखि गोरूसिंगेसम्मको सडक निर्माणमा कुनै पनि ढिलाइ नगरी निर्माण गर्न निर्माण व्यवसायलाई आग्रह गरे ।
६ दशकपछि स्तरोन्नति हुन थालेको यो सडक विक्रम संवत् २०१९ मा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेका थिए । शहरी क्षेत्रमा फुटपाथ, साइकल लेन र सर्भिस सहित ‘सिक्स लेन’ र ग्रामीण क्षेत्रमा ‘फोर लेन’मा स्तरोन्नति गरिने छ ।
विभागका सहसचिव तथा उपमहानिर्देशक डा। विजय जैसीका अनुसार दुई खण्डमा विभाजित गरी यो सडक स्तरोन्नतिको काम हुँदैछ ।बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरूसिंगेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरी सडक निर्माणको लागि ल्याब, क्रसर र कंक्रिट बनाउने ठाउँ बनाइसकेको छ । सडक निर्माणको लागि एउटै कम्पनीले ठेक्का लिए पनि दुई भागमा विभाजन गरी अलग अलग ठेक्का सम्झौता गरिएको छ । निर्माणको काम पनि बुटवल र कपिलवस्तु दुबैतर्फबाट एकैपटक सुरू हुने आयोजनाले जनाएको छ । एसियाली विकास बैंकको सहयोगमा केही वर्षअघि डिजाइन सम्पन्न भएको २ लेनको यो सडक अब ४ लेनको बन्नेछ ।
एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री हुने आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन् । पहिलो चरणमा बन्ने ५० किलोमिटर खण्डमा ३० वटा ठूला पुल र १४ वटा कल्भर्ट पनि बनाइनेछ । बजार क्षेत्रमा ६ वटा अन्डररओभर पास हुनेछन् । निर्माण कम्पनीले प्रारम्भिक कामका लागि १० प्रतिशत रकम लगिसकेको छ भने ५ प्रतिशत काम सुरू गरेपछि भुक्तानी गरिनेछ । सम्झौता अनुसार कार्यादेश लिएको मितिदेखि तीन वर्षभित्र अर्थात् २०८४ असोजभित्र काम सक्नुपर्नेछ ।
तत्कालीन राजा महेन्द्र शाहको पालामा बनेको यो सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । यो सडकखण्ड स्तरोन्नतिको योजना रूपन्देहीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल यसअघि अर्थमन्त्री भएको बेलामा अगाडि बढेको थियो । आयोजना प्रमुख इन्जिनियर न्यौपानेले पनि बुटवल–नारायणगढ सडकमा भएका गल्तीबाट सिकेर नयाँ तरिकामा काम गर्ने योजना रहेको बताइन् । बजार र बस्ती क्षेत्रमा दुवैतिर सर्भिस लेन बनाइसकेर मात्र बीचको भाग भत्काइने र सकेसम्म समस्या कम हुने गरी काम अगाडि बढाइने उनले बताइन् । निर्माण कम्पनीसँग गरिएको सम्झौता अनुसार कार्यादेश लिएको मितिदेखि तीन वर्षभित्र अर्थात् २०८४ असोजभित्र सडक स्तरोन्नतिको काम सक्नुपर्नेछ ।
५० किलोमिटर सडक स्तरोन्नतिको लागि ७ हजार १७७ रूख काट्नुपर्ने आयोजनाले जनाएको छ । झण्डै २० किलोमिटर जंगल क्षेत्र रहेकोले धेरै रूख कटान गर्नुपर्ने न्यौपानेले बताइन् ।बजार र बस्ती भएको क्षेत्रमा पनि वर, पिपल, स्वामी, कदम, सिमल लगायतका ठूला ठूला कल्पवृक्ष रहेका छन् । सबै क्षेत्रबाट सडक क्षेत्राधिकार भित्रका रूख काट्न स्वीकृति लिइसकेकोले सडकको शिलान्यासपछि कटान सुरू गर्ने न्यौपानेले जानकारी दिइन् ।
वन नियमावली अनुसार संरचना निर्माणका लागि एउटा रूख काट्दा सट्टामा दस वटा बिरूवा रोप्नुपर्छ । यस हिसाबले यहाँ काटिने रूखको साटो ७० हजारभन्दा धेरै नयाँ बिरूवा खाली जमिनमा रोपेर हुर्काउनुपर्ने हुन्छ । यो कामका लागि आयोजनाले चार करोड रुपैयाँ छुट्ट्याएको छ । यो सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल–भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीसँग जोडिन्छ ।