बुटवल । रास्वपाका सभापति रवि लामिछानेको आजको थुनछेक बहस सकिएको छ । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । सहकारी पीडित पक्षका पनि केही वकिलले बहस गरेका छन् । आज पनि रविलाई हिजो जस्तै परिवारको जिम्मा लगाइएको छ । सरकारी वकिलको तर्फबाट बहस अन्तिम चरणमा पुगेको र यसपछि लामिछानेका पक्षमा कानून व्यवसायीले बहस गर्नेछन् ।
प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने तयारीमा छन्। बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ । पीडित र रविका तर्फबाट भोलि बहस हुनेछ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादी रहेका लामिछाने हिजो ( बुधबार) आफैं जिल्ला अदालतमा हाजिर भएका थिए । जिल्ला अदालले बयान गराएर लामिछानेलाई श्रीमती निकिता पौडेलको जिम्मा लगाएको थियो । लामिछानेलाई हिजो परिवारको जिम्मा लगाएको प्रति सरकारी वकिलहरुले इजलासमा आक्रोश व्यक्त गरेका छन् । लामिछानेलाई हिजो परिवारको जिम्मामा छाड्नुले थुनछेकको औचित्य नै समाप्त भएको भन्दै उनीहरुले न्यायाधीश योगीप्रति कटाक्ष गरे ।
सरकारी वकिलहरुले न्यायाधीश योगीले थुनछेकको विधिशास्त्र नै मिचेको संकेत गरे । बयान दिन आएको मान्छेलाई पुन परिवारको जिम्मा लगाएकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारी वकिलले लामिछाने जोडिएको मुद्दा नहेर्न समेत न्यायाधीश योगीलाई सुझाए ।