भारत । महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये सात जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमध्ये तीन जना नेपालीसमेत रहेका छन् । नेपाल निवासी करिब ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीय कमला नवीन भण्डारीको सो दुर्घटनामा परी मृत्यु भएको हो ।
ज्यान गुमाएकामध्ये भरतको जयगढीका ५० वर्षीय जवकला बुट्टे, २० वर्षीय नसिरुद्दीन बद्रुद्दीन सिद्दीकी, ३५ वर्षीय इम्तियाज अली र ३० वर्षीय बाबु खानको पहिचान खुलेको छ । बाँकी पाँच जनाको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा अन्य कयौँ घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । घटनाको मुख्य कारण पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला रहेको बताइएको छ। परधाडे रेलवे स्टेशनमा उक्त हल्ला फैलिएपछि आतङ्कित यात्रुहरू रेलबाट हामफाल्न थाले। यसैबीच, अर्को ट्र्याकबाट तीव्र गतिमा आइरहेको कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेसले थुप्रै यात्रुलाई किचेको जनाइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा ठूलो घुम्ती रहेकोले यात्रुहरूले अर्को ट्र्याकबाट आइरहेको रेल देख्न सकेनन्। पुष्पक एक्सप्रेस ९रेल नम्बर १२५३३० लखनउबाट मुम्बईतर्फ जाँदै थियो भने कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेस ( रेल नम्बर १२६२९ ) यशवन्तपुरबाट हजरत निजामुद्दीनतर्फ गइरहेको भारतीय संचार माध्यमले जनाएको छ ।
घटनापछि दुर्घटनास्थलमा ठूलो रुवाबासी मच्चिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, पुष्पक एक्सप्रेसको ब्रेक लगाउँदा पांग्राबाट धुवाँ निस्किएपछि आगलागीको हल्ला फैलिएको थियो, जसले यात्रीहरूलाई हतास बनायो। यस रेलमा धेरै नेपाली रहेको आशंका गरिएपनि अहिलेसम्म कतिजना थिए भन्ने एकिन तथ्यांक भने पाईएको छैन । रेल दुर्घटनामा ४० जनाभन्दा बढी सख्त घाईते रहेको बताईएको छ ।