मोरङ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता भएको छ । बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता, सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएको मोरङ अदालतले जानकारी दिएको छ ।
उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा ( ३ ) को देहाय ( ग ) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवनाको माग दाबी छ । गत २५ पुसमा पक्राउ परेका पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको थियो । एमाले मोरङ जिल्ला सदस्यसमेत रहेका पोखरेलको बयान बिहीबार हुनेछ । बयानपछि थुनछेक बहस हुनेछ ।
पोखरेलले पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । गत ३१ भदौमा उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारबाहीको गर्न आदेश दिएको थियो ।
आदेशको पुस ११ गते प्रमाणीकरण भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । ठगीको विवरण सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई जिम्मेवारीबाट हटाएका थिए । पोखरेलका स्वकीय सचिवमाथि ठगी मुद्दा छ ।