काठमाण्डौं । सशस्त्र प्रहरी बलको २४ औ. बार्षिकोत्सव समाराहेका अवसरमा प्रधानमन्त्री दैविक उद्धार कोषमा ५१ लाख ३९ हजार ४ सय २ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ । बार्षिकोत्सव समारोहमा गृहमन्त्री रमेश लेखकलाई सशस्त्र प्रहरी महानिरीक्षक .राजु अर्यालले विपद्मा रहेका नागरिकहरुलाई राज्यद्वारा प्रदान गरिने राहत वितरण कार्यमा हातेमालो गर्न सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुबाट संकलित रकमको चेक हस्तान्तरण गर्नु भएको हो ।
समारोहमा गृहमन्त्री लेखकले अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक नवराज बिष्टलाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ तथा यस वर्ष उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो ।
यसअघि २०७८ सालमा समेत नायव महानिरीक्षक ठाडा मगरले नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई उत्कृष्ट बाहिनी बनाउन सफल हुनुभएको थियो । त्यसरी नै सशस्त्र प्रहरी बल नेपालद्वारा सम्पादित कार्यहरु समेटी तयार गरी प्रकाशित ‘सशस्त्र प्रहरी वर्ष पुस्तक २०८१’ को लोकार्पण समेत गर्नुभयो ।
समारोहमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक विकास सल्लाहकार तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधान सेनापति, नेपाल राष्ट्र बैंकका गभर्नर, गृहसचिव, नेपाल सरकारका सचिव, प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, वहावाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, संचारकर्मी लगायत सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा बिभिन्न साँगितिक कोसेलीहरु र युद्ध कौशलका बिभिन्न अभ्यासहरु समेत प्रदर्शन गरीउको थियो ।