बुटवल। रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश दिएको छ । बुधवार अदालतले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राख्न नपर्ने आदेश दिएको हो । यो आदेशसँगै पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई भोलि विहान उपस्थित् हुनेगरि श्रीमती निकिता पौडेलको जिम्मा लगाउने आदेश दिएको छ ।
आज थुनछेक बहस नै सुरु नभएपछि लामिछानेलाई अदालतले श्रीमती र उनका कानून व्यवसायीको जिम्मा लगाएको हो । यद्धपी लामिछानेलाई भोलि विहान १० बजे नै अदालतमा उपस्थित् गराउन अदालतले भनेको छ । लामिछानेमाथि सुप्रिम सहकारी ठगीमा संलग्नताको आरोप छ ।
भोली सुरुमा सरकारी वकिलको तर्फबाट बहस हुनेछ भने त्यसपछि लामिछानेको पक्षका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा रविसहित २२ जनाविरुद्ध मुद्दा परेको थियो ।
यसअघि काठमाण्डौ तथा कास्की अदालतवाट धरौटीमा रिहा भएका रवि लामिछाने बुधवार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । उनले कास्की जिल्ला अदालतमा ६५ लाख र जिल्ला अदालत काठमाण्डौमा ६० लाख धरौटी राखेर रिहा भएका थिए ।