काठमाडौं । अमेरिकामा गत नोभेम्बर ५ मा भएको चुनावमा निर्वाचित डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालका लागि सोमबार शपथ लिएका छन् । रिपब्लिकन नेता डोनाल्ड जे ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनलाई प्रधान न्यायाधीश जोन रोवर्टले सपथ ग्रहण गराएका छन् । ट्रम्प यसअघि सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए ।
यसअघि अमेरिकी उपराष्ट्रति निर्वाचित जेम्स डेभिड भेन्सले पनि अमेरिकी उपराष्ट्रति पदको सपथ लिएका थिए । राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा सपथ लिएसँगै उनको ह्वाइट हाउसमा दोस्रो कार्यकाल सुरु भएको छ । राष्ट्रपति ट्रम्पको शपथ ग्रहण समारोहमा अमेरिकी पूर्व राष्ट्रपतिहरु, उद्योगपति र विश्वका राजनीतिज्ञहरुको पनि उल्लेख्य उपस्थिति थियो ।
राष्ट्रपतिको सपथ ग्रहण लगत्तै गरेको सम्बोधनमा नेता ट्रम्पले आजबाट अमेरिकाको स्वर्णयुग सुरु भएको बताइका छन् । उनले भनेका छन्, “ अब हाम्रो देश समृद्ध हुनेछ र सम्मानित हुनेछ । म स्पष्ट छु म सधैं अमेरिकालाई पहिलो स्थानमा राख्नेछु। अमेरिकाको सार्वभौमिकता पुनर्स्थापित हुनेछ, सुरक्षा पुनर्स्थापित हुनेछ र न्यायको सन्तुलन कायम राखिनेछ ।”
अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्ने कार्यकारी आदेशमा तत्काल हस्ताक्षर गर्ने बताउँदै ट्रम्पले अवैध प्रवेश तत्काल रोकिने र सरकारले लाखौँ ‘आपराधिक आप्रवासी’लाई आफ्नो देशबाट निर्वासित गर्ने प्रक्रिया सुरु गर्ने घोषणा गरेका छन् । ट्रम्प नोभेम्बर ५ मा भएको चुनावमा रिपब्लिकन दलका तर्फबाट राष्ट्रपतिमा विजयी भएका थिए । उनले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गरेका हुन् । ट्रम्प ३ सय १४ इलेक्टोरल मतसहित विजयी भएका हुन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ मतमध्ये कम्तीमा २७० इलेक्टोरल मत आवश्यक पर्छ । ह्यारिसले २ सय २६ इलेक्टोरल मत पाएकी थिइन् ।
यसअघि ट्रम्प सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए । २०१६ को चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराएका ट्रम्प सन् २०२० मा जो बाइडेनसँग पराजित भएका थिए । चार वर्षअघि बाइडेनसँग पराजित भएका ट्रम्पले चुनावी नतिजा अस्वीकार गरेका थिए । त्यस क्रममा ट्रम्पले कार्यकर्तालाई उक्साएका कारण २०२१ जनवरी ६ मा संसद् भवन क्यापिटल हिलमा दंगा मच्चिएको थियो । त्यसले अमेरिकी राजनीतिमा उनको छवि नराम्ररी बिग्रिएको थियो । उक्त कदमपछि ट्रम्प विपक्षी डेमोक्रेटिकका साथै केही रिपब्लिकन नेताको आलोचनाको सिकार बनेका थिए ।