काठमाण्डौं । लामो प्रयासपछि इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ। यससँगै पन्ध्र महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ। सम्झौताका लागि कतार र अमेरिकाले मध्यस्थता गरेका थिए।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल(थानीले युद्धविराम आइतवारबाट कार्यान्वयनमा आउने र त्यसबेलासम्म इजरेली मन्त्रिपरिषद्बाट यो स्वीकृत हुने तालिका रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरेली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहा समेटिएको जनाएका छन्।
छ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरेली बन्धकहरू छाडिनेछ। त्यसको साटो इजरेलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने र केही क्षेत्रबाट इजरेली फौज फिर्ता हुनेछ। यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुनेछन्। यस सम्झौताले प्यालेस्टिनीहरूसम्म थप सहायता पुग्ने बाटो खोलिदिनेछ।
भविष्यमा गाजामा कसले शासन गर्नेछ भन्ने र के इजरेल त्यस भूभागबाट पूर्ण रूपमा बाहिरिनेछ भन्ने सवाललाई पछि सम्बोधन गरिनेछ।बीबीसी भेरिफाइको अध्ययन अनुसार हमाससँग अझै ९४ जना बन्धकहरू छन्। तीमध्ये ३४ जनाको मृत्यु भइसकेको हुनसक्ने ठानिएको छ। बिबिसि