काठमाण्डौं । अध्यादेशबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारले ल्याएका अध्यादेशबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सिंहदरबारमा पत्रकार सम्मेलन गर्न लागेका छन् ।
‘राष्ट्रपतिबाट चारवटा अध्यादेश जारी भएको छ । बाँकी भूमि सम्बन्धी अध्यादेश जारी भएपछि यसबारे जानकारी गराउन प्रधानमन्त्रीले आज पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । सरकारले लगानीमैत्री वातावरण बनाउन, सरकारका कामलाई छिटो छरितो गर्न भन्दै पाँचवटा अध्यादेश ल्याउने निर्णय गरेको थियो । सरकारले शुक्रबार सिफारिस गरेपछि राष्ट्रपतिले सोमबार चारवटा अध्यादेश जारी गरिसकेका छन् ।
ती अध्यादेशहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व ( पहिलो संशोधन ) अध्यादेश छन् । त्यस्तै, निजीकरण ( पहिलो संशोधन ) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि जारी भएका छन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा अध्यादेश ल्याएका छन् भने भूमी सम्वन्धि अध्यादेश रोकेका छन् ।