जनकपुर । जनकपुरधाममा मकर सङ्क्रान्तिको अवसर पारेर मंगलबार खिचडी भोजको आयोजना गरिएको छ। जनकपुरधामका स्थानीय युवाहरूले संस्कृति जोगाउने उद्देश्यका साथ जनकपुरधामको जानकी चोकमा खिचडी भोजको आयोजना गरेका हुन् ।
मकर सङ्क्रान्तिको अवसर पारेर अंगराज सरको डिलमा विगत १ दशकभन्दा बढी समयदेखि खिचडी भोजको आयोजन हुँदै आएको छ।यसवर्ष मिथिला संस्कृति तथा सनातन धर्म अन्तर्गतको संस्कृतिलाई संरक्षण गर्ने अभिप्रायले खिचडी भोजको आयोजना हामीले गर्दै आएको युवा अभियन्ताहरू बताउँछन्।
खिचडी भोज मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको अटुट माध्यम रहेकोले आफूहरूले प्रत्येक वर्ष यो भोजको आयोजना गर्दै आएको उनीहरुले बताए । स्थानीय जानकी चोकका दुई दर्जन युवाहरूको समन्वयमा खिचडी भोजको आयोजना गरिएको हो ।
भोजमा सहभागीहरूलाई खिचडी, पापड, अचार, दही, तील लगायतको परिकार खुवाइएको थियो । भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीयवासी, सञ्चारकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । यसले भाइचारा र संस्कृतिलाई जोगाउने युवाहरूको विश्वास छ।