काठमाण्डौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।
पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।
दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी ( इलेक्टिभ इङ्गलिस ) को परीक्षा हुनेछ ।
चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ । परीक्षा चैत १९ गते मङ्गलवार सकिनेछ । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यतालिकामा उल्लेख छ ।