कैलाली । । आज ( मङ्गलबार ) देखि सुरु हुने प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको हो। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मैदान सरसफाइसँगै कालोपत्रलगायत तयारी पूरा भएको बताउँदै खेलाडीहरू धनगढी पुग्ने क्रम जारी रहेको जानकारी दिए।
आगामी माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपिएफ र आर्मीको टोली सहभागी हुने सङ्घका सचिव लक्ष्मण भट्टले बताए। उनका अनुसार सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपिएफ क्लब रहेका छन्। समूह ‘बी’ मा कोशी, बागमती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका छन्।
आज उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेश भिड्ने छन्। राष्ट्रिय खेलकुद परिषद्को कार्ययोजना, नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले रु पाँच लाख पुरस्कार पाउने नेपाल क्रिकेट सङ्घका महिला विकास समितिका सदस्य तेजप्रकाश भट्टले जानकारी दिए। उनका अनुसार दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ द सिरिजलाई रु ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई रु २५र२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई रु तीन हजार पुरस्कार दिइने छ। प्रथम र द्वितीय पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले र बाँकी पुरस्कारहरूको रकम सुदूरपश्चिम खेलकुद परिषद्ले उपलब्ध गराउने जनाएका छन्।