काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारको पुतली बगैंचामा निर्माण भैरहेको संसद भवनको अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल एकाएक निर्माणाधिन संसद् भवनको अवलोकन गर्न पुगेका हुन्। उनलाई सभामुख देवराज घिमिरेले निर्माण भैरहेको उक्त भवनको अवलोकन गराएका हुन् । राष्ट्रपति पौडेल स्वयं सभामुख भैसकेका व्यक्तित्व हुन् ।
२०७९ असोज १६ सम्म निर्माणको काम सक्ने भन्दै ०७६ असोज १६ मा यसको ठेक्का सम्झौता भएको थियो । तर अहिलेसम्म निर्माणसम्पन्न भएको छैन । तोकिएको समयमा काम नसकिएपछि चौथोपटक ०८१ चैत १८ सम्मका लागि गत असारमा म्याद थप गरिएको हो ।
उनी भवन निर्माणको अवलोकनमा गएका हुन् ।
उनले संसदीय सर्वोच्चतालाई महत्व दिएको रुपमा आजको अवलोकन भ्रमणलाई बुझिएको छ । भवन निर्माणको अवलोकनमा यसअघि मन्त्रीहरु, प्रधानमन्त्रीहरु पनि पुगिसकेका थिए ।
गणतन्त्र प्राप्तपछि राष्ट्रपति पहिलोपटक सिंहदरबार छिरेका हुन् । यसअघिका राष्ट्रपतिहरु रामवरण यादव र विद्यादेवी भण्डारीले आफ्नो दुई कार्यकालभरि एकपटक पनि सिंहदरबार प्रवेश गरेनन् ।
तर, अहिलेका राष्ट्रपति पौडेलले भने सिंहदरबार प्रवेश गरेर नयाँ इतिहास रचेका छन् । तर, राष्ट्रपति पौडेलले भवन निर्माणमा मात्रै नभएर संसद्को महत्वको बारेमा सन्देश दिन यो अवलोकन भ्रमण गरेको बुझिएको छ ।