काठमाण्डौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछानेको हिरासत बसाई थप दुईदिन लम्बिएको छ । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आजपनि प्रहरीकै जिम्मा लगाएको हो । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको प्रतिवादी रहेका लामिछानेको मुद्दामा थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकारणमा लामिछाने गत बिहीबार ६५ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए । हिजो काठमाडौं जिल्ला अदालतमा हाजिर भएका लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको थियो । थुनछेक बहस नसकिएपछि उनलाई आजपनि प्रहरीको जिम्मा लगाइएको हो । भोलि सार्वजनिक विदा रहेको कारण लामिछानेको मुद्दामा अब बुधबारमात्रै थुनछेक बहस हुनेछ ।
आज थुनछेक बहस नसकिएपछि न्यायाधीशले प्रहरी हिरासतमा पठाउने आदेश दिएपछि रास्वपा समर्थकले काठमाडौं जिल्ला अदालत बाहिर प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका हुन् । रविले आफू पोखराबाट आएर अदालतमा हाजिर भएको उल्लेख गर्दै फेरि घर पठाइदिन आग्रह गरेका थिए ।
रवि अब आज र भोलि हिरासतमै रहनेछन् । भोलि सरकारी बिदा रहेका कारण अदालत नखुल्ने भएकाले पर्सिमात्रै थुनछेकको बाँकी बहस हुनेछ । सरकारी वकिलहरुले बहस गर्दै रविलाई थुनामै पठाउन माग गरेका थिए । उनीहरुले रवि गोर्खा मिडियाको सेयर होल्डर भएकाले सहकारीबाट ल्याइएको पैसामा उनी पनि जिम्मेवार रहेको जिकिर गरेका छन् ।