काठमाडौं । करिब पाँच करोड रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । श्रेष्ठसँग भएको चार करोड ८८ लाख ३० हजार भन्दा बढी पैसाको स्रोत नखुलेको उल्लेख गर्दै आज अदालतमा आरोप–पत्र दायर गरिएको छ ।
इन्जिनियर श्रेष्ठले लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाबाट ठेकेदारसँग मिलेमतो गरी कमिसन लिई काठमाडौं, ललितपुरलगायतका विभिन्न स्थानमा घर जग्गा तथा गाडी खरिद, विभिन्न कम्पनीमा लगानी र विभिन्न व्यक्तिहरुको नाममा समेत जग्गा जमिन र चलअचल सम्पत्ति लुकाइ स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको आयोगले आरोप–पत्रमा उल्लेख गरेको छ। श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बुबा हरिकुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठ समेतका नाममा राखेको देखिएको आयोगको दाबी छ ।
२०४६ सालमा सरकारी सेवा प्रवेश गरेका उनी २०७७ असारसम्मको अवधिमा गैरकानूनी रकम आर्जन गरेको अख्तियारको दाबी छ । यो अवधिमा उनले ११ करोड २५ लाख रुपैयाँ आर्जन गरेकोमा १६ करोड १३ लाख रुपैयाँको सम्पत्ति भेटिएको अख्तियारको दावी छ । अख्तियारले उनीमाथि चार करोड ८८ लाख रुपैयाँ बिगो मागदाबी गरेको हो ।