काठमाडौं । जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लव पुगेका छन् । आजको खेलमा बागमती प्रदेशलाई पराजित गर्दै पुलिस फाईनलमा पुगेको हो । जय ट्रफी एलिट कपमा दुई जित निकाल्ने एक्लो टीम समेत पुलिस बन्न पुगेको छ । त्रिभुवन आर्मीक्लवले मधेश प्रदेशलाई जित्दै फाइनल सम्मको यात्रा तय गरेको हो ।
लिग चरणको अन्तिम खेलमा आर्मीले मधेशलाई ८ विकेटले हराउँदै र पुलिसले बाग्मतीलाई ५ विकेटले हराउँदै उपाधि नजिक पुगेका हुन् ।वीरगञ्जमा मधेशले दिएको २८ रनको लक्ष्य आर्मीले २ विकेट गुमाएर भेटायो । आर्मीका तृतराज दासले १३ रन बनाए । मधेशका प्रदीप पासवानले २ विकेट लिए । दोस्रो पारीमा मधेशका मयन यादवले ४९ रन बनाए । आर्मीका बसिर अहमदले ४ विकेट लिए । पहिलो पारीमा आर्मीले २ सय २५ रन र मधेशले १ सय २ रन बनाएको थियो ।
यस्तै जनकपुरमा बाग्मतीले दिएको १ सय १६ रनको लक्ष्य पुलिसले ५ विकेट गुमाएर भेटायो । पुलिसका अमित श्रेष्ठले ५६ रन बनाए । बाग्मतीका कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । दोस्रो पारीमा बाग्मतीका शुभ कंसाकरले ७०, रित गौतमले ५२ रन बनाए । पुलिसका ललित राजवंशीले ३ विकेट लिए । पहिलो पारीमा बाग्मतीले १ सय १२ रन र पुलिसले २ सय १५ रन बनाएको थियो । जय ट्रफी एलिट कप क्रिकेटको फाइनल खेल तीन दिवसीय हुनेछ । फाइलन खेल वीरगञ्जमा माघ १ देखि ३ गतेसम्म संचालन हुनेछ ।