काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ( रास्वपा ) का सभापति रवि लामिछानेको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ । उनको जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान सकिएको हो । अब भने उनीबारेको मुद्दामा थुनछेक बहस सुरू हुनेछ ।
रवि अदालत खुल्नुअघि बिहानै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका थिए । अदालतले कास्की जिल्ला अदालतले झैँ धरौटी मागेमा छुटने छन् । नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको छ । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका थिए । त्यहाँबाट छुटे पनि उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा चलेको थियो । त्यसपछि उनी शुक्रबार नै स्वयम् हाजिर हुने भनिए पनि समयअभावका कारण आइतबार उपस्थित भएका हुन् ।
कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा ५ करोड ७८ लाख ९८ हजार ४सय ८० रुपैयाँ लगेको प्रहरी अनुसन्धानले देखाएको छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४सय ८० रुपैयाँ बिगो मागदाबी गरेको छ । अभियोग पत्रमा उल्लेख भए अनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिट मार्फत विदेश पठाएको फेला भेटिएको छ ।
२०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो रकम रवि लामिछानेको नामबाट विदेशमा पठाएको भेटिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका थिए । स्वर्णलक्ष्मी सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । कास्कीबाट छुटेका रविविरुद्ध अब काठमाडौंसहित चितवन, रुपन्देही र पर्सामा पनि मुद्दा दायर हुँदैछ । रबि समर्थकहरुको जिल्ला अदालत काठमाण्डौमा भिड लागिरहेको छ ।